२४ मंसिर २०८१, सोमबार | Tue Dec 10 2024

गाजाको दहमा सञ्चालित महायज्ञबाट ६४ लाख संकलन

१५ मङ्सिर, बागलुङ । प्रसिद्ध गाजा दहलाई पर्यटकीय गन्तव्यका रुपमा प्रचार गर्दै स्थापित गर्न गत शनिबारदेखि सञ्चालन भएको श्रीमद्भागवत् ज्ञान महायज्ञको शुक्रबार समापन गरिएको छ । सिद्धबराह मन्दिर संरक्षण समितिको आयोजनामा महायज्ञ आयोजना गरिएको थियो ।

महायज्ञबाट रु ६४ लाख दान सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका प्रचारप्रसार संयोजक दिलीप प्रतेलले जानकारी दिनुभयो । महायज्ञको व्यवस्थापनलगायत काममा रु २० लाखभन्दा धेरै खर्च भएको अनुमान छ ।

महायज्ञमा शिवदत्त रेग्मी प्रमुख वाचकको भूमिकामा रहनुभएको थियो । जैमिनी संकृतन समूहले भजनको व्यवस्थापन मिलाएको थियो । महायज्ञ सफल बनाउन जैमिनी नगरपालिकाले काठेखोलातर्फको चापाखर्कदेखि गाजा दह र कुश्मीसेरादेखि दमेक हुँदै गाजा दहसम्मका सर्वसाधारणलाई पालैपालो महायज्ञस्थलमा उपस्थित गराएको थियो । गाजा दह समुन्द्री सतहदेखि दुई हजार चार सय ६० मिटर उचाइमा छ । चिसो मौसम र भौगोलिक कठिनाइका कारण महायज्ञमा अनुमान गरेजस्तो भक्तजनको उपस्थिति नभएको मूल आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार ११:५९