११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

पवित्रस्थल नमोबुद्धमा शुक्रबारदेखि सुरु भएको जात्रा सम्पन्न

१ मङ्सिर, काभ्रेपलाञ्चोक । यहाँको नमोबुद्ध नगरपालिका–११ स्थित बौद्ध धर्मालम्बीहरूको ऐतिहासिक पवित्रस्थल नमोबुद्धमा शुक्रबारदेखि सुरु भएको जात्रा सम्पन्न भएको छ ।

कात्तिक शुक्ल पूर्णिमाको अघिल्लो रातदेखि सुरु भएको जात्राअन्तर्गत मेला भर्न गएकाले आफ्ना पितृहरूको सम्झानामा दुई दिन दुई रात दीप प्रज्वलन गरी जात्रा मनाएका हुन् । जात्रामा विशेष गरी तामाङ र नेवार समुदायका भक्तजनको उपस्थिति थियो ।

काभ्रेपलाञ्चोकको ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीय स्थान नमोबुद्धमा कात्तिक शुक्ल पूर्णिमाको अवसरमा ठूलो मेला लाग्दै आएको छ । शान्तिका प्रतिक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको धार्मिक विश्वासका साथ यस दिनलाई विशेष रूपमा मनाइँदै आइएको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले जानकारी दिनुभयो ।

“किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो । उक्त स्थान ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामारकण भएको शिलालेखका उल्लेख गरिएको छ”, लामाले भन्नुभयो, “द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बर्सेनि बौद्ध धर्मालम्बीको घुइँचो लाग्दछ ।”

मेलामा करिब एक लाख भक्तजनले नमोबुद्धको दर्शन एवं पूजाअर्चना गरेका मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यो मेला अवधिभर परम्परागत गीत तथा नृत्यु प्रस्तुत गर्नेहरूको पनि उल्लेख्य सहभागिता थियो ।

गुठीका अध्यक्ष लामाका अनुसार मेला अवधिभर ‘पितृ’ को सम्झानामा बत्ती प्रज्वलन गरिएको हो । “यहाँ बर्सेनि पितृलाई बत्ती बाल्ने परम्परा रहँदै आएको छ । बत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने र पितृ सन्तुष्ट हुने धार्मिक मान्यता छ”, उहाँले भन्नुभयो ।

मेलामा सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ, नुवाकोटलगायत जिल्लाका भक्तजनको सहभागिता रहेको समितिले जनाएको छ ।

नमोबुद्धका मूल लामागुरु कान्छा लामाका अनुसार तत्कालीन पञ्चलादेश ९पनौती राज्य० का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत ९जङ्गल० मा शिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गर्नुभएको थियो । सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा यहाँ ठूलो मेला लाग्ने गरेको हो ।

“पाँच डमरु जन्माएकी बघिनी लक्ष्मी र पाँच डमरु भिक्षु मानिएको हो”, लामागुरु लामाले भन्नुभयो । उहाँका अनुसार राजकुमारले बघिनिलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानीले देहत्याग गरेको स्थान नजिक चैत्यसेवामा बाँकी जीवन बिताउनुभएको थियो । तत्पश्चात् राजारानी शङ्खेश्वरी अजिअजिमाको नामले चिनिँदै आउनुभएको जनविश्वास छ ।

नमोबुद्धमा प्रायः सधैँ स्वदेशी तथा विदेशी बौद्धमार्गीहरूको चहलपहल हुने गर्दछ । यहाँबाट पनौतीसहित वरिपरिका हरियाली बस्ती, पूर्व–उत्तरतर्फका हिमश्रृङ्खला र पहाडी क्षेत्रका आकर्षक दृष्यावलोकन गर्न सकिन्छ । हाल यहाँ विशाल गुम्बा, मन्दिर र गुम्बाचैत्य छन् ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार १४:४५