३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

-अमरेन्द्रकुमार यादव

३० कार्तिक, धनुषा । धनुषा र सिरहाको सीमामा पर्ने कमला नदीमा शुक्रबार बिहानैदेखि धामीझाँक्री, बोक्साबोक्सी, भूतप्रेतबाट पीडितसहितका श्रद्धालुहरुको घुइँचो लागेको छ । कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेला भर्न श्रद्धालुहरुको घुइँचो लागेको हो ।

सूर्योदयसँगै शुक्रबार बिहानैदेखि हजारौँ नवधामीझाँक्रीले कमला नदीमा डुबुल्की लगाई गुरुसँग सतबैद(शपथ) लिइरहेका छन् । कमला नदी किनारमा भगता(देउता) खेल्नेको घुइँचो लागेको छ । आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीबासका लागि कात्र्तिक पूर्णिमामा स्नान गर्ने प्रचलन छ ।

कतिपय नवधामीझाँक्री कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा बिहिवार कमला नदीको तटमा पुगेर राति बास बसेको र आज बिहानै स्नान गरेको श्रद्धालुहरुले बताएका छन् । कमला नदीमा स्नान गरेमा कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी स्नान गर्नेको संख्या अत्यधिक रहने गरेको छ ।

सिरहाको बन्दिपुरमा पर्ने उत्तरबाहिनी, चिकना, निर्दन्ना, चतरी, सारश्वर, बरेरबा, फूलबरिया, बसबिट्टा, इनर्वा र भारत बिहारस्थित जयनगरको कमला नदीको दुबैतिर स्नान गर्ने तथा नवधाधीझाँक्रीहरुहरुको जतातै घुइँचो देख्न सकिन्छ । करिब २ दशकअघिसम्म इनर्वा घाटमा अत्याधिक भीड हुने गरेपनि अहिले भने सहजता हुने ठाउँहरुमा भीडभाड देखिने गरेको छ। सर्वसाधारणहरु स्नान गरी पुजापाठ गरी पवित्र नदीमा प्रथम स्नान गरेको धामीझाँक्रीसँग आशिष लिने चलन छ। प्रसादहरुका रुपमा कमला नदीको बालुवा, ढुंगा, गेरुवा, फूल वा जे पाए त्यही लिएर श्रद्धालुहरु प्रशन्न हुँदै फर्किन्छन् । यस्तै नवधामीझाँक्रीहरु सतबैद(शपथ) लिएर घर फर्किनेछन्।

त्यसैगरी सुर्यदेवको साक्षी राखेर महिलाहरुले सन्तान प्राप्तिका लागि पनि कमलेश्वरी मातासँग भाकल पनि गर्ने गर्छन्। उनीहरुले भाकलसँगै कमला स्नान गर्न आएका धामीझाँक्रीहरुबाट प्रसाद पनि लिने गर्छन्। र सो भाकल पुरा भएपछि नदीमा बाख्राको पाठो, सुनको गुजा, माटोको कोठी, झाप र पान सुपारी लड्डु लगायतका सामग्रीहरु चढाउने गर्दछ ।

नवधामीझाँक्रीहरु सतबैद(शपथ) लिन नेपालको कमला नदी तथा भारतको गंगा सागर पनि जाने गर्छन् । त्यहाँ गएर भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन् । मूलधामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धिका लागि यस दिन पूर्णाहुति दिने चलन छ ।

कमला नदीमा आएर शपथ लिएपछि धामीझाँक्री पाको हुने विश्वास गरिन्छ । यस्तै आजका दिन कमला नदीमा श्रद्धालुहरुले स्थानपछि दही, चिउरा, सक्खर, तरकारी र तिलका अचार पनि नदी तटमै खाने गर्छन् । यो मेलालाई भूत भेला भनिएपनि कतिपयले अहिले भगवान मेला भनेर पनि व्याख्या गरिरहेको छ ।

यता अन्धविश्वासका कारण धामीझाँक्री र बोक्सीको नाममा महिलामाथि हुने हिंसा बढ्दो छ । विभिन्न निकायहरुले यस्तो घटनालाई न्यूनिकरण गर्न विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । लाखौं करोडौं खर्चिरहेका छन् । तर, पनि कमला नदीमा लाग्ने भूत मेलाको दृश्य हेर्दा मेलाले आधुनिक विज्ञान र सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको प्रयासलाई ठुलो चुनौती दिइरहेको छ ।रासस

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार २०:०९