पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा ४ जना पक्राउ
२८ कात्तिक, काठमाडौं । पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । मंगलबार उजुरी पक्राउ पूर्जी दिएर इलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुले उनीहरुलाई पक्राउ गरेको हो ।
मंगलबार दिउँसो पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ।प्र ०३–००१ ख १९९२ नम्बरको ट्रकमा उनीहरूले पशुलाई निर्दयी तरिकाले ओसारपसार गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो ।
कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टका अनुसार उनीहरूले २४ वटा गोरुलाई पुच्छरमा बाँधेर, मुन्टो ठाडो पारेर नथीमा समेत बाँधेर ओसारपसार गरेको पाइएको हो ।
जसमध्ये २ वटा गोरुको सिंङबाट रगत पनि बगीरहेको थियो । त्रिपालले पुरै ट्रक छोपेकाले गोरुलाई स्वासप्रस्वासमा समेत समस्या आएकोले उनीहरूलाई नियन्त्रणमा लिइएको एसपी भट्टले बताउनुभयो ।
पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–१३ नहरचोक, कुशाहाका ५५ वर्षीय इसाद आलम र सोही ठाउँका २७ वर्षीय समिम आलम तथा विराटनगर महानगरपालिका–३ मानगणका ३८ वर्षीय हेम श्रेष्ठ र सोही ठाउँका २७ वर्षीय रमेश श्रेष्ठ छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको छ ।
प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार १२:५७