२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

नशामुक्ति र अपाङ्गतासम्बन्धी समस्या समाधान गर्न सहकार्य आवश्यक छ: मन्त्री चौधरी

२५ कात्तिक, काठमाडौँ । नशामुक्ति र अपाङ्गतासम्बन्धी समस्या समाधान गर्न सबैको आपसी सहकार्य र समन्वय आवश्यक पर्ने बताइएको छ । राजधानीमा आज सुरु भएको नशामुक्ति र अपाङ्गतासम्बन्धी जागरणमूलक युवा सम्मेलनको उद्घाटन सत्रमा सहभागी वक्ताले सहकार्य र समन्वयबाट समस्या समाधान गर्न सकिने धारणा राख्नुभएको हो ।

काशियाना फाउन्डेसनले आयोजना गरेको सम्मेलनको दीप प्रज्ज्वलन गरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कतिपय युवाले माध्यमिक तह (९, १० कक्षा) मा प्रवेश गरेदेखि नशा सेवन सुरु गर्ने गरेको उल्लेख गर्नुहुँदै यसबाट अपाङ्गताको अवस्थामा पुग्नेसम्मका समस्या आउने गरेको बताउनुभयो ।

नेपालमा जनसङ्ख्याको ४२ प्रतिशत युवा रहेकाले तिनलाई सत्मार्गमा ल्याउने गरी योजनासहित काम गर्न लागिएको उहाँले जानकारी दिनुभयो । नेपालमा खुला सीमा भएकाले पनि धेरै लागुऔषध भित्रने गरेको मन्त्री चौधरीले बताउनुभयो । नशामुक्ति अभियानका लागि संयुक्त रूपमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

भारतीय जनता पार्टी (भाजपा) का महासचिव दुश्यन्त गौतमले काशियाना फाउन्डेसनले १० वर्षदेखि नशामुक्तिका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो । उहाँले नशामुक्तिका लागि दक्षिण एसिया क्षेत्रका देश मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

फाउन्डेसनका संस्थापक सुमित अङ्कुर सिंहले नशामुक्तिका लागि नेपालको पशुपतिनाथबाट भारतको विश्वनाथसम्म संस्थाले जागरणमूलक पदयात्राको तयारी गरिएको जानकारी दिनुभयो । सम्मेलनमा ३० देशका युवा प्रतिनिधिको सहभागिता रहेको छ ।

कार्यक्रममा मणिपुरका विधायक रामेश्वर सिंह, फाउन्डेसनका अपाङ्गतासम्बन्धी सल्लाहकार दीपा मल्लिक, संरक्षक श्याम ज्याजु, नवीन वभनिया हरियाणा, डा भूपेन्द्र सिंह, आशीष गुप्तालगायतले नशामुक्तिका लागि आपसी सहकार्य हुनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आईतवार १४:५२