२८ मंसिर २०८१, शुक्रबार | Fri Dec 13 2024

तिहारको संस्कृति बचाउन नुवाकोटमा अन्तरविद्यालय स्तरीय देउसीभैलो प्रतियोगिता

१६ कात्तिक, नुवाकोट । नुवाकोटमा तिहारको संस्कृति बचाउन भन्दै अन्तरविद्यालय स्तरीय देउसीभैलो प्रतियोगिता भएको छ । नेकपा एमाले दुप्चेश्वर गाउँ कमिटीले तिहारको संस्कृति हराउन नदिन प्रतियोगितात्मक देउसीभैलो कार्यक्रम आयोजना गरेको हो ।

बुधबार सूर्यमती नदीको किनार समुन्द्रटारमा भएको प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा विद्यालयले सहभागिता जनाएको अध्यक्ष मैतबहादुर तामाङ प्रेमले जानकारी दिनुभयो । प्रतियोगितामा विद्यालयले विद्यार्थीहरूलाई नै देउसीभैलोको गीत सिर्जना गर्न लगाएर प्रस्तुती दिन लगाएका थिए ।

नृत्यसहितका प्रस्तुतीहरू निकै कलात्मक रहेका थिए । प्रतियोगितामा दुप्चेश्वर ५ को महादेव माविको तर्फबाट प्रमिता तामाङले नेतृत्व गरेको समूहले प्रथम स्थान हाँसिल गरेको छ । समूहले प्रथमस्थान हाँसिल गर्दै नगद २० हजार रूपैयाँ पुरस्कार समेत प्राप्त गरेको छ । यस्तै प्रतियोगतामा दोस्रो भएको बच्छलादेवी माविले १५ हजार र तेस्रो भएको रूक्मणि माविले १० हजार नगद पुस्कार प्राप्त गरेका छन । प्रतियोगितामा सहभागी भएका अन्य तीन विद्यालय सरस्वती मावि, कल्याण मावि र दुप्चेश्वर माविले नगद ५ हजार रूपैयाँ सान्त्वना पुरस्कार प्राप्त गरेका छन । प्रतियोगितामा चर्चित कलाकार दामोदर खतिवडाको संयोजकत्वमा तीन सदस्यीय निर्णायक मण्डल गठन गरिएको थियो ।

प्रस्तुती नियाल्दै र सुन्दै निर्णायक मण्डल ।

प्रतियोगितामा नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएको बागमती प्रदेशको पूर्व मन्त्री केशवराज पाण्डेले  बालबालिकाहरूका लागि प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पुगेको बताउनुभयो । उहाँले संस्कार र संस्कृतिको जगेर्नासँगै विद्यार्थीले आफ्नो क्षमताको प्रदर्शन गर्ने मञ्च सिर्जना गरेर रचनात्मक काम गरेको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो । उहाँले निर्वाचनहरूमा राजनीतिक रूपमा प्रतिस्पर्धा हुने भए पनि संस्कृतिको जगेर्ना र स्थानीय विकासका लागि सबै दलले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रको नेता समेत रहनुभएको गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले विद्यार्थीका लागि निकै महत्वपूर्ण कार्यक्रम आयोजना भएको बताउनुभयो । उहाँले संस्कृति संरक्षणका लागि सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले दुप्चेश्वरको शिक्षा राम्रै भए पनि नतिजामा कमजोर देखिएको भन्दै आगामी दिनमा त्यसमा पनि सुधार ल्याउने प्रतिवद्धता जनाउनुभयो ।

सोही अवसरमा एमाले बागमती प्रदेश कमिटीका सचिवालय सदस्य बलराम आचार्यले विद्यार्थीलाई राजनीतिक दलको झण्डा बोकाउनुको साटो यस्तै रचनात्मक कार्यक्रमहरू गरेर व्यवहारिक रूपमा सबल बनाउनुपर्ने बताउनुभयो । उहाँले कतिपय विद्यालयले एमालेको कार्यक्रम भनेर विद्यार्थी सहभागी नगराएको भन्ने जानकारी पाएको भन्दै राम्रो कार्यक्रम जुनसुकै पार्टीले गरे पनि त्यसमा सबैले खुलेर साथ दिनुपर्ने बताउनुभयो । उहाँले दुप्चेश्वरको विकासमा राम्रो कामको थालनी भैसकेको भन्दै एमालेको नेतृत्वमा दुप्चेश्वर सबल र समृद्ध बन्ने दाबी पनि गर्नुभयो ।

सोही कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ एवं गाउँपालिकाको पूर्व उपाध्यक्ष अञ्जु आचार्यले एमालेले निकै राम्रो कामको सुरूवात गरेको भन्दै अन्य दलहरूले समेत यसबाट सिकेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले देउसीभैलोको प्रतियोगितामा आफ्नै भेषभुसामा सहभागी भएर प्रस्तुती दिन पाउँदा विद्यार्थीमा देखिएको खुशीले आफूलाई खुशी तुल्याएको बताउनुभयो ।

आफूसधैँ विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनको पक्षमा रहेको बताउँदै विद्यार्थीको चाहना अनुसारको कार्यक्रमहरू गाउँपालिकाले नै गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । सो अवसरमा एमालेको केन्द्रीय सदस्य विन्दा ढुंगाना, प्रदेश कमिटीका सदस्यहरू पूर्णलाल श्रेष्ठ र सरस्वती थापा एवं जिल्ला कमिटीका अध्यक्ष बद्री मैनाली र सदस्य विजयकुमार तामाङले शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार १३:०२