१४ पुष २०८१, आईतवार | Sun Dec 29 2024

नगरवासीलाई सहुलियत शुल्कमा फूल

१५ कात्तिक, नुवाकोट । यहाँको विदुर नगरपालिकाले फूल उत्पादन गरी नगरवासीलाई सहुलियत शुल्कमा उपलब्ध गराएको छ । पहिलोपटक परीक्षणका रुपमा सुरु गरेको फूल खेतीबाट राम्रो उत्पादन भएसँगै नगरवासीलाई सहुलियत शुल्कमा बिक्री सुरु गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं ५ स्थित माझीटार र वडा नं ९ स्थित कोलनीमा रहेको नगरपालिकको नौ रोपनी खाली जग्गामा सयपत्री र मखमली लगाइएको थियो । उक्त फूल तिहारका अवसरमा नगरवासीलाई सहुलियत शुल्कमा बिक्री गरिएको हो ।

नगरप्रमुख राजन श्रेष्ठले भन्नुभयो, “भाइटिकाको दिनसम्म बिक्रीको प्रबन्ध मिलाएका छौँ ।” मखमली फूल प्रतिकिलो रु तीन सय ५० र सयपत्री प्रतिकिलो रु दुई सय शुल्क तोकिएको छ । उक्त शुल्क हाल बजारमा कारोबार भइरहेको शुल्कभन्दा कम भएकाले फूलको माग धेरै भएको कृषि शाखाप्रमुख मदनराज न्यौपानेले जानकारी दिनुभयो । बजारमा हाल सयपत्री फूल प्रतिकिलो रु दुई सय ५० र मखमली रु चार सयमा कारोबार भइरहेको छ ।

नगरपालिकाले प्लास्टिकजन्य फूल तथा मालाको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएकाले फूलको माग उच्च भएको हो । लामो समयदेखि बाँझो रहेको जग्गामा नगरपालिका आफैँले फूलखेती गरी नगरवासीलाई समेत फूल खेतीप्रति आकर्षित गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार १३:०१