१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउन आग्रह

१३ कात्तिक, नेपालगञ्ज । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिक र प्राविधिकलाई बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउनतर्फ केन्द्रित हुन आग्रह गर्नुभएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् कृषि अनुसन्धान निर्देशनालय खजुराको आज निरीक्षण गर्दै उहाँले किसानसँग नजिक भएर उत्पादन वृद्धि गर्नेगरी काम गर्न निर्देशन दिनुभयो । मन्त्री अधिकारीले भन्नुभयो, “कृषि वैज्ञानिक र प्राविधिकहरु कृषि कर्म गर्ने किसानका अभिभावक हुन्, त्यसैले उहाँहरुसँग निरन्तर साक्षात्कार गर्नुहोस् र किसानलाई प्रविधिसँग जोड्न सहजीकरण गर्नुस् ।”

मन्त्री अधिकारीले कृषि विकासमा देखिएका थुप्रै समस्या सुघार गर्न प्रयास गरेको जानकारी दिँदै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का समस्या चाँडोभन्दा चाँडो व्यवस्थापन गरिने उल्लेख गर्नुभयो ।

उहाँले नार्क आफैँमा ऐतिहासिक पृष्ठभूमि बोकेको संस्था भएर पनि लथालिङ्ग र विचलित अवस्थामा पुग्नु दुःखद भएको टिप्पणी गर्दै आत्मालोचना, आत्ममूल्याङ्कन र आत्मसमीक्षा गरेर आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउन कर्मचारीलाई आग्रह गर्नुभयो ।

कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक डा समीद अहमदले हाल दुई स्थान ठाकुरबाबा–३ मिर्चैया बर्दिया र शिवराज–३ सोनवर्षा कपिलवस्तुमा अनुसन्धान केन्द्र विस्तार गरिएको जानकारी दिनुभयो ।  निर्देशक अहमदका अनुसार आर्थिक वर्ष २०७९÷८० देखि निर्देशनालयले लमही–२ केरुनिया दाङमा नार्क प्रविधि गाउँ सञ्चालन गरिएको छ । उहाँले जनशक्तिको चरम अभाव व्यहोरिरहेको जानकारी गराउनुभयो ।

खजुरामा रहेको कोसेबाली अनुसन्धान कार्यक्रमको पनि मन्त्री अधिकारीले निरीक्षण गर्नुभयो । कार्यक्रम संयोजक डा अनिल पोख्रेलले कोशेबाली कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । मन्त्री अधिकारीले नेपालगन्ज दुग्ध वितरण आयोजना कोहलपुरको पनि अवलोकन गर्नुभयो । आयोजना प्रमुख दिलीप चौधरीले आयोजनाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले किसानको दूधको बक्यौताबारे जिज्ञासा राख्नुभएको थियो ।

प्रकाशित मिति : October 29, 2024 at 2:20 pm