१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

त्रिभुवन विमानस्थलमा एक सातामै दोस्रो पटक बमको हल्ला, के हुँदै छ देशमा ?

१२ कात्तिक, काठमाडौँ । पछिल्लो समय हवाई उडानमा सुरक्षा अफवाह आइरहेका छन् । अज्ञात समूहबाट एकसाताको अवधिमै नेपालमा दुईपटक यस्तो अफवाह फैलाइएको छ । काठमाडौँबाट भारतको नयाँदिल्ली आज उड्न लागेको एयर इण्डियाको विमानमा बम राखेको हल्लापछि विमानमा सवार यात्रुलाई ओराले जाँच भइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार एयर इण्डियाको विमानमा बमको हल्लापछि अहिले जाँच भइरहेको छ । हालसम्म कुनै शङ्कास्पद वस्तु फेला परेको छैन ।

“भारतबाट नेपाल आउने विमानमा बम राखिएको हल्ला आइरहेको छन् तर, अहिलेसम्म त्यस्तो कुनै शङ्कास्पद बस्तु फेला परेको छैन”, प्रवक्ता कार्कीले भन्नुभयो । एयर इण्डियाको एआई–२१६ विमानमा बमको हल्लापछि अहिले विमानको जाँच भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उक्त विमानको जाँच प्रक्रिया चलिरहे पनि विमानस्थलको आन्तरिक र अन्तराष्ट्रिय दुबै उडान सामान्यरुपमा सञ्चालन भइरहेको छ ।

दिउँसो २ बजे काठमाडौँ विमानस्थलमा अवतरण भएको एयर इण्डियाको विमानमा बम राखेको अज्ञात समूहबाट जानकारी आएपछि नेपाली सेना र नेपाल प्रहरीको विशेष टोलीले जाँच गरिरहेको छ । सो विमान काठमाडौँबाट एकयस ५८ यात्रु लिएर दिल्ली उड्ने तयारीमा थियो ।

यसअघि यही कात्तिक ६ गते भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको विस्पोटक पदार्थ निस्किृय गर्ने विशेष टोलीले खानतलासी गरेको थियो ।भारतको नयाँदिल्लीबाट भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमानमा बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा जाँच गरिएको थियो । उक्त विमानमा पनि कुनै शङ्कास्पद वस्तु फेला परेको थिएन ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार १८:१६