रास्वपा कार्यकर्ताले धम्क्याउन थालेको सहकारी पीडितको आरोप
७ कार्तिक, पोखरा । पोखराका सहकारी पीडितहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले धम्क्याउन थालेको पीडितहरुले आरोप लगाएका छन्।
बुधबार सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले प्रेस विज्ञप्ती जारी गर्दै रास्वपाका कार्यकर्ताले पीडितको घरमै पुगेर धम्क्याउने, प्रलोपनमा पार्नेजस्ता गतिविधी गरेको आरोप लगाएका हुन्।
रास्वपाका सभापति लामिछाने सहकारी बचत रकम प्रकरणमा मुछिएपछि रास्वपाका कार्यकर्ताले पोखरामा दिनहुँ आन्दोलन गर्दै आएका छन्। उनीहरुले आन्दोलनमा पोखरेली नागरिक सहभागी नभएको भन्दै घरदैलो गरिरहेका छन्। घरदैलोका क्रममा रास्वपा कार्यकर्ताले पीडितलाई झन् पीडा दिने काम गरेको पीडितहरुले बताएका छन्।
‘रास्वपाका नेता तथा कार्यकर्ताहरूले अनुसन्धानलाई नै प्रभाव पार्ने किसिमको कार्यक्रम पोखरामा दिनहुँ जसो भइरहेका छन् । कार्यकर्ताद्धारा पीडित लखेटिएका छन्। विगत २ बर्षदेखि यो पार्टी सरकारमा हुँदा र नहुँदा पार्टीका नेताहरुलाई हारगुहार गर्दा, कैयौ पटक ज्ञापन पत्र बुझाउँदा पनि सहकारी पीडितहरूको समस्या समाधानका निम्ति बिन्ति बिसाउँदा पनि कहिल्यै कुनै सहयोग भएन। आज पार्टीकै सभापति अनुसन्धानको दायरामा आउँदा झोलामा पीडितको पैसा बोकी फिर्ता दिने हो कि जस्तो गरे,’ विज्ञप्तीमा उल्लेख छ ।’
अदालती प्रक्रियालाई प्रभावित पार्ने गरी रास्वपा कार्यकर्ताले आन्दोलन नरोकेको भन्दै सहकारी पीडितले विहिबार विशाल प्रदर्शन गर्ने तयारी गरेको सहकारीका पिडितहरू बताउछन् ।
प्रकाशित मिति : October 23, 2024 at 11:06 am









