१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

न्यायालयको सुधारमा मुख्य ध्यान दिनेछु : प्रधान न्यायाधीश राउत

५ कात्तिक, काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको सुधारमा मुख्य ध्यान दिने बताउनुभएको छ ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नवनियुक्त प्रधानन्यायाधीश राउतलाई आज ‘बधाई तथा शुभकामना’ कार्यक्रममा प्रधान न्यायाधीश राउतले न्यायालयको सुधारमा पूर्ण ध्यान दिने बताउनुभयो ।

“न्यायपालिकाको सुधारका क्रम रोकिने छैन, मेरो पहिलो प्राथमिकता न्यायापालिकाको सुधार हुनेछ”, प्रधान न्यायाधीश राउतले भन्नुभयो, “न्यायपालिकालाई पारदर्शी र जवाफदेही बनाउन सदा प्रतिबद्ध छु, त्यो मेरो संवैधानिक जिम्मेवारी र दायित्व हो, म निष्ठापूर्वक काम गर्नेछु ।”

न्यायालयप्रति जनताको जनआस्था र विश्वास फर्काउने प्रयत्न गर्ने र तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन प्रतिवेदनको प्रावधान कार्यान्वयन हुन बाँकी रहेका विषयमा पनि कार्यान्वयनका लागि आफूले ध्यान दिने स्पष्ट पार्नुभयो ।

प्रधान न्यायाधीश राउतले नागरिककको अभिव्यक्ति स्वतन्त्रताप्रति सचेत रही समग्र देश, जनता र संविधानको कार्यान्वयन गर्न इमान्दारपूर्वक काम गर्ने बताउनुभयो । उहाँले सर्वोच्च अदालतमा चार न्यायाधीश पद रिक्त रहेकाप्रति उहाँले भन्नुभयो, “न्यायाधीश बिना न्यायालय चल्न सक्दैन, त्यो प्राथमिकतामा रहनुपर्ने विषय हो, त्यो छिट्टै हुनेछ ।”

नवनियुक्त प्रधान न्यायाधीश राउतलाई मञ्चका अध्यक्ष कालिका खड्कासहितको पदाधिकारी तथा कानुन रिपोटिङ गर्ने सम्पूर्ण पत्रकारले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : October 21, 2024 at 5:38 pm