५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

जनवरीमा लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट’ हुँदै, ३० देशका व्यवसायी सहभागी हुने


८ पुस, काठमाडौँ । नेपालमा पहिलोपटक ‘बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट’ ९बिआईटिएम० हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पर्यटन बोर्डको आयोजनामा सन् २०१९ को जनवरी १० देखि  १२ तारिख लुम्बिनीमा बिआईटिएम हुने निश्चित भएको छ ।बिआईटिएमको कार्यान्वयनको पाटो भने नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गर्न लागेको र त्यसका निम्ति सचिवालय नै स्थापना गरेर काम अघि बढाइएको अध्यक्ष सिएन पाण्डेले दैनिकीलार्इ जानकारी दिए ।

बिआईटिएममा नेपालमा पर्टक पठाउने गरेका ३० देशका ख्याति प्राप्त ट्राभल एजेन्सीहरू, पर्यटन प्रवर्द्धनमा क्रियाशिल अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधि, पर्यटनसँग सम्बन्धित विश्वविख्यात ब्लगरहरू, भिक्षु, बुद्धिस्ट एशोसिएशनका प्रतिनिधि लगायतको सहभागिता रहने अध्यक्ष पाण्डेले बताए ।

मार्टमा नेपाल सरकारअन्तर्गत रहेका सम्पूर्ण पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाको समेत सहभागिता रहने अध्यक्ष पाण्डेले बताए । उनले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालको अन्तिम तयारीमा रहेको अवस्थामा लुम्बिनीमा हुने यस मार्टले भिजिट नेपाल २०२० सफल बनाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको बताए ।

सरकारले भिजिट नेपाल २०२० मा २० लखा पर्यटक भित्राउने लक्ष्य लिएको छ भने सोही अनुसार पर्यटकीय वातावरण तयार गर्ने प्रचार प्रसारको काम पनि तीव्र रूपमा हुँदैछ । ‘एक्सप्लोर द बुद्ध ल्याण्ड, गेटवे टू बुद्धिस्ट सर्किट’ भन्ने मूल नाराका साथ पहिलोपटक बुद्धभूमिमा ट्राभल मार्ट आयोजना गर्न लागिएको हो । मार्ट सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा समितिसमेत गठन गरिसकिएको छ ।

प्रकाशित मिति : ८ पुष २०७५, आईतवार ११:३२