२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा दसैंघरमा ‘फूलपाती’ भित्र्याइयो

२४ असोज, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा बिहीबार हनुमानढोकाको दसैंघरमा ‘फूलपाती’ भित्र्याइएको छ।  नवरात्रको सातौं दिन फूलपाती भित्र्यायउने चलन रहेको छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कर्चुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याइँने गरिन्छ ।

हनुमानढोका दरबार दसैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याइँने परम्परा छ । धादिङ जीवनपुरसम्म गोरखा दरबारको दसैंघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले फूलपाती ल्याउने परम्परा रहेको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ फूलपाती ल्याउने परम्परा छ ।

पृथ्वीनारायण शाहले काठमाडौं राज्य जितेपछि गोरखाबाट ल्याएर फूलपाती भित्र्याइँने चलन बसेको इतिहास छ । फूलपाती दरबारभित्र भित्र्याउदा कालो बोका बली दिने चलन छ । यसदिन देशभरका प्रमुख शक्तिपिठ, देवी मन्दिर, नेपाली सेना तथा प्रहरीका तल्लोदेखि उपल्लो तहका अड्डामा बढाईंसाथ फूलपाती भित्र्याइँने चलन छ ।

फूलपाती भित्र्याउने साइतअनुसार टुँडीखेलमा नेपाली सेनाले फूलपातीको बढाईं जात्रा प्रस्तुत गर्ने गर्छन् । नेपाली सेनाको टुकडीले तोप पड्काउँदै हर्ष बढाईं गर्ने प्रचलन परम्परादेखि नै चल्दै आएको छ ।

घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा आजै नै फूलपातीका दिन कालरात्रि देवीको पूजा गरिँदै छ । कालो वर्ण भएकी कालरात्रि देवीको वाहन गधा हो भने देवीले क्रोधमा आगो निकाल्छिन् । चार हात भएकी देवीको चारै हातमा तरबार, मसाल र वरमुद्रा लिएकी हुन्छिन् ।

यिनै देवीले भुइ“मा झरेको हरेक थोपा रगतबाट पुनर्जीवन पाउने ‘रक्तबिज’ नामक दैत्यको संहार गरेकी हुन् । फूलपातीदेखि नै दोबाटो, चौबाटो, चौतारो र खुला स्थानमा हालिने लिंगे पिङ, डोडे पिङ र रोटे पिङ हाल्ने गरिन्छ । दसैंको विशेष रौनक फूलपातीबाट सुरु हुन्छ । यसै दिनबाट सरकारी कार्यालय बन्द हुने भए पनि अघिल्लो दिनै शनिबार परेकाले बिदा सुरु भइसकेको छ । तस्बिरः दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

 

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार १७:०४