२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा

२४ असोज, महोत्तरी । प्रत्येक वर्ष झैँ यसवर्ष पनि बडादशैँको सप्तमी तिथिको पूजा अर्चना गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आजदेखि दुर्गा भवानीको मूर्ति पूजा सुरु भएको छ । बडादशैँको आगमनसँगै मिथिलाञ्चलको विभिन्न गाउँ शहरमा बनाइएका दुर्गा भवानीको मूर्ति सप्तमी तिथिमा पूजा अर्चना गर्दै अनावरण गरिएको जलेश्वर नगरपालिका–२ का दुर्गा मूर्ति पूजारी ललित झाले बताउनुभयो ।

यसवर्ष महोत्तरी सदरमुकाम जलेश्वरसहित बर्दिबास, गौशाला, औरही, मटिहानी, पिपरा, बलवा, मनरा, सम्सी, बथनाहा, र गाउँगाउँमा दुर्गा भवानीको भव्य मूर्ति, आकर्षक मन्दिर र पंडालहरु बनाएर धुमधामका साथ पूजा अर्चना सुरु गरिएको छ । जिल्ला सदरमुकाम जलेश्वरमा दशैँलाई मध्यनजर गर्दै शंकर चोक, दूर्गा चोक, राजदेवी मन्दिर, संसारी मन्दिर, बौधीमाई मन्दिर, गढीमाई मन्दिरलाई विशेष किसिमले सजाइएको छ ।

जलेश्वर, २४ असोजः
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१ मा बिहीबार बडादसैँको सातौ दिन सप्तमी तिथिमा विशेष पूजाअर्चनापछि सर्वसाधारणको पूजाअर्चनाका लागि अनावरण गरिएको दूर्गा भवानीको मूर्ति । तस्बिरः सञ्जीतकुमार मण्डल÷रासस

जलेश्वरको दुर्गा चोकमा हुने दुर्गा पूजा समितिका अध्यक्ष शिवचन्द्र चौधरीले हरेक वर्षझैँ यस वर्ष पनि पूजालाई व्यवस्थित रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरिएको जानकारी दिनुभयो । जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले आफ्नै नेतृत्वमा नगरभरि सरसफाई गरिएको बताउनुभयो । तन, मन, धनले दुर्गा भवानीको पूजा आराधना गरेमा मनको इच्छा पुरा हुनुका साथै दुःख, कष्ट दूर हुने जनविश्वास छ ।

भारतीय सीमासँग जोडिएको मटिहानी नगरपालिकामा भारतीय संस्कृतिअनुसार दुर्गा पूजाको अन्तिम दिन (बडा दशैंको दिन) ५० फिट भन्दा अग्लो रावणको पुतला दहन गर्ने गरिन्छ । उक्त रावणको पुतला दहन हेर्न नेपाल र भारतीय सीमाक्षेत्रका गाउँबाट हजारौँ दर्शक आउने गर्दछन् ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार १६:२८