२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सप्तकोसीमा ‘जेटबोट’ पुनः सञ्चालनमा

२१ असोज, सुनसरी । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो ।

केही समय अगाडि वर्षाका कारण जल सतह उच्च भएसँगै असुरक्षा हुने भएकाले सेवा बन्द गरिएको थियो । उहाँले भन्नुभयो, “चाडवाडको समयमा यात्रुहरु आवतजावत सहज बनाउने उद्देश्यले तत्कालका लागि सेवा सुरु गरिएको हो ।”

हाल सुनसरीको चतरादेखि बराहक्षेत्रहुँदै भोजपुरको सीमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ । जेटबोट सञ्चालन भएसँगै भोजपुरलगायत क्षेत्रका सर्वसाधारणलाई आउजाउ गर्न सहज हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

आज विहान सुनसरीको चतरास्थित सप्तकोशी नदीमा पुगेर प्रजिअ तिवारीसँगै सुनसरीका प्रहरी उपरीक्षक सुमन तिमल्सिना, राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका उपअनुसन्धान निर्देशक तुल्सी कट्टेललगायतले निरीक्षण गर्नुभएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार ११:५१