१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

सिन्धुलीमा सडक, पुल, भवन, खानेपानीलगायत पूर्वाधार र कृषिबालीमा ठूलो नोक्सानी

१६ असोज, काठमाडौँ । केही दिनअघिको अविरल वर्षाका कारण सिन्धुलीको गड्तिर भेगमा सडक, पुल, भवन, खानेपानीलगायत पूर्वाधार र कृषिबालीमा ठूलो नोक्सानी भएको छ । यस भेगका विभिन्न क्षेत्रमा आवासीय तथा व्यावसायिक भवन डुबानमा परेका छन्भने विद्यालय भवन र स्वास्थ्य संस्थाहरु पनि ठूलो सङ्ख्यामा प्रभावित भएका छन् । खानेपानी र विद्युत् आपूर्तिमा समस्या देखिएको छ । पाक्ने बेलाको धानबालीमा नदी र खोला पसेर क्षति पु¥याएको छ ।

विपद्पछि तीनवटै तहका सरकारको सहयोग र समन्वयमा प्राथमिकता निर्धारण गरी राहत तथा पुनःस्थापनाका कार्यक्रमहरु सुरु गरिएका छन् । घर आवास नै गुमाएका परिवारहरुलाई अस्थायी आवास र खाद्यान्नलगायत आधारभूत आवश्यकताका सामग्री वितरणमा स्थानीय सरकार जुटेका छन् । यसै सन्दर्भमा सिन्धुली जिल्लामा बाढीपहिरो र डुबानले गरेको क्षति, राहत तथा पुनःस्थापना तथा विपद् पछिको व्यवस्थापनको अवस्थाबारे त्यहाँका जनप्रतिनिधिसँग राससले गरेको कुराकानीको सम्पादित अंश ः

‘विपद् प्रभावितलाई दसैँअघि नै घर पस्ने वातावरण बनाउँछौँ’ स्सांसद लेखनाथ दाहाल 

बाढी, पहिरो र डुबानका कारण सिन्धुली जिल्लाको सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकामा मात्रै करिब एक हजार ५०० बिघा क्षेत्रफलमा लगाएको धानबाली नष्ट भएको छ । विपद्का कारण जिल्लाका यी तीनवटा पालिका सबैभन्दा बढी प्रभावित भएका छन् । त्यस्तै, सुनकोशी गड्तिर क्षेत्रमा मात्रै करिब छ सय बिघा खेतीयोग्य जमिनमा सुनकोशी नदी र रोशी खोलाले पुरेर बालीनालीमा क्षति पुर्याएको छ । खेत खण्डहरमा परिणत भएका छन् ।

जिल्लामा प्राकृतिक प्रकोपको असर अकल्पनीय र क्षति ठूलो छ । छोटो समयमा आधुनिक र पर्यटकीय सहरतर्फ उन्मुख भइरहेका खुर्कोट, नेपालथोक र मूलकोटमा अर्बौंको लगानीमा खोलिएका होटल र रिसोर्टमा ठूलो क्षति पुगेको छ । फाँटहरु नदी कटानमा परेका छन् । निजी घर, विद्यालय, वडा कार्यालयलगायत संरचना र बस्ती डुबानमा परेर क्षति पुगेको छ । बाढीले घर पुरिएकाले घरभित्रका सामानहरु के–कस्तो अवस्थामा छ भन्ने हालसम्म यकिन नभएकाले पीडितहरु चिन्ता छन् ।

कैयौँ घरका सटर बाढीको बालुवाले छोपेको छ । अहिले प्रभावित क्षेत्रमा १०÷१२ वटा ‘ब्याकहो लोडर’ र डोजर लगाएर पुरिएको र बिगे्रभत्केको ठाउँको मर्मतसम्भार गर्ने कार्य भइरहेको छ । जनतालाई दसँै अगाडि घरभित्र पस्ने वातावरण बनाउने लक्ष्यका साथ पुनःनिर्माण र उद्धार कार्यलाई तीव्र तुल्याइएको छ । नदी कटान भएको ठाउँमा व्यवस्थित योजनासहित वैकल्पिक मार्ग निर्माण गर्ने र कोशी किनारलाई तटबन्ध गर्ने कार्यलाई प्राथमिकतामा राखेर धमाधम काम सुरु भएको छ ।

नेपालथोकदेखि भकुण्डेसम्म मुख्य रुपमा सडकमा ठूलो समस्या छ । करिब तीन किलोमिटर  सडक पूर्ण रुपमा क्षति भएको छ । त्यस स्थानमा वैकल्पिक मार्ग बनाएर सवारी आवागमन सहज बनाउने प्रयासमा लागेका छौँ । सुनकोशी माथिको सित्खा, खुर्कोट र रोशीका विभिन्न ठाउँमा पक्की पुलसमेत बाढीले बगाएको अवस्था छ ।

बाटो मर्मतका लागि भाडामा लिइएका लोडर, डोजरहरु स्थानीय सरकारबाट इन्धनको व्यवस्था मिलाइएको छ । खानेपानी र विद्युत्को ठूलो समस्या समाधान हुँदै गएको छ । यो समस्या केही दिनभित्रै हल हुनेछ । सबै स्थानीय सडकहरु क्षतिग्रस्त छन् । सडकसँगै विद्युत्का पोलहरु पनि ढलेका छन् । रोशी र कोशीदेखि फिक्कलसम्ममा ५२ वटा विद्यालय भत्केको र डुबानमा परेको प्रारम्भिक विवरण आएको छ । केही स्वास्थ्य चौकीका बाहिरी पर्खालहरु भत्किएका छन् ।

प्रदेश र सङ्घ सरकारबाट राहत र पुनःस्थापनाको प्रतीक्षामा छौँ । उधारोमा काम गरिएको छ । आवश्यक स्वास्थ्यकर्मी परिचालन, इन्धनलगायत सुविधाका लागि विभिन्न निकायसँग समन्वय भइरहेको छ । सामूहिक भोजन र अत्यावश्यक सामग्रीसहित राहतका प्याकेट पनि वितरण गराइएको छ । तत्कालका लागि दाल चामल, नुनतेल जस्ता आधारभूत खाद्य सामग्री स्थानीय सरकारबाट उपलब्ध गराइएको छ ।

‘सडक खुलाउने कार्य प्राथमिकतामा छ’ः राजकुमार बराल, उपाध्यक्ष–फिक्कल गाउँपालिका 

फिक्कलमा नदी कटान र डुबानबाट निकै ठूलो क्षति भएको छ । खेतीयोग्य जमिनमा नदीको भङ्गालो पसेका छन् । केही घर बगाएको छ । पालिकाको सुम्नाङबेँसी, झहरे, सोखुबेँसी, सर्किनीबँेसी, बान्द्रेबेँसीलगायत स्थान बढी प्रभावित भएका छन् । विद्यालय भवन, झोलुङ्गे पुल, स्वास्थ्यचौकीहरुमा क्षति पुगेको छ ।

उद्धार, राहत र पुनःस्थापनाका कार्यक्रम सुरु भइसकेका छन् । अब व्यवस्थित रुपमा कसरी जाने भनेर सर्वदलीय बैठक बोलाएर त्यसको निर्णयका आधारमा हामी अघि बढ्छौँ । क्षतिका आधारमा राहत दिनेगरी तयारी भइरहेको छ । डोजरहरु प्रयोग गरेर बाटो खोल्ने काम भइरहेको छ । हामी सडक खुलाउन लागिरहेका छौँ ।

‘खुर्कोटमा ३५ घर पूर्ण रुपमा क्षति भएका छन्’ः ज्वालाप्रसाद न्यौपाने, उपाध्यक्ष–गोलन्जोर गाउँपालिकाका
पालिकाको खुर्कोट क्षेत्रमा मात्र करिब ३५ घरमा क्षति हुँदा ६२ परिवार पूर्ण रुपमा प्रभावित भएका छन् । त्यो क्षेत्रमा ४० वटाको हाराहारी पसलमा क्षति पुगेको छ । के–कति धनजनको क्षति भएको भन्ने विवरण सङ्कलन हुँदैछ । त्यस्तै, बलेनी क्षेत्रमा ११ घर डुबाएको छ । मुर्की, च्याकुटारबेँसी, र बलेनीका तीनवटा प्राथमिक विद्यालय डुबानमा परेका छन् । पालिकाको छ नम्बर वडा कार्यालयमा पनि बाढी पसेर क्षति पुगेको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत हैबार, हर्देनी, कुखुरेटारमा ठूलो पहिरोका साथै त्यहाँका झोलुङ्गे पुलमा क्षति पुगेको छ । खुर्कोटका दुईवटा र दिङदिङको माथिल्लो क्षेत्रको पुल बगेको छ । मध्यपहाडी राजमार्ग पुरैजसो पुनः निर्माण गर्नुपर्ने भएको छ । सबै बिग्रिएको छ । त्यसमा करोडौँ खर्च हुने देखिएको छ । सिन्धुलीमा सुनकोशीपछि गोलन्जोर गाउँपालिकामा बढी क्षति देखिएको छ ।

गोलन्जोर गाउँपालिका क्षेत्रको मध्यपहाडी राजमार्गमा भएको अवरोध हटाउन दुईवटा डोजर प्रयोज भइरहेका छन् । मङ्गलबार अक्करेभीर क्षेत्रको अवरोध हटाइएको छ । नेपालथोकबाट घुर्मीसम्म बिपी राजमार्ग र मध्यपहाडी राजमार्गका धेरै ठाउँमा सडक भत्किएको, भासिएको, माथिबाट पहिरो खसेर ठूलो क्षति भएको छ । सडक भएको ठाउँमा नदीको भङ्गालो र खोलो पसेको छ ।

गोलन्जोरको मात्र करिब ३० बिघा धान खेतमा क्षति पुगेको छ । खुर्कोट, दिङदिङ्, हैबार, मुर्की, कुखुरेटारलगायत क्षेत्र बढी प्रभावित भएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार १५:५६