१० जेष्ठ २०८१, बिहीबार | Fri May 24 2024

दाङको टरिगाउँ विमानस्थलमा टर्मिनल भवन बन्ने


७ पुस, दाङ । जिल्लाको टरिगाउँ विमानस्थलमा आधुनिक यात्रु प्रतिक्षालय (टर्मिनल भवन) बन्ने भएको छ । भवन निर्माणका लागि प्रक्रियासमेत अगाडि बढाइसकिएको नागरिक उड्डयन प्राधिकरण दाङ शाखाले जनाएको हो । रु ६० लाखको लागतमा टर्मिनल भवन निर्माणका लागि प्राधिकरणले टेण्डर आह्वान गरेको र उक्त भवनमा शौचालय, यात्रुकक्ष, सुरक्षाकक्षलगायत रहने जनाइएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको पहलमा नियमित विमान सेवा सञ्चालन हुन थालेपछि टर्मिनल भवन निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । विमान सेवा निरन्तर सञ्चालन भएको र उक्त भवन पुरानो भएका कारण यात्रुलाई असहज हुँदै आएको थियो।

भवन निर्माणका लागि टेण्डर आह्वान हुनाले विमानस्थल नियमित सञ्चालनमा आउने सङ्केत मिलेको उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।विमानस्थलमा अस्थायी डिपो निर्माणका लागि स्थलगत अध्ययन गर्न अर्को साता काठमाडाँैबाट एक टोली आउने पनि उहाँले जानकारी दिनुभयो ।

लामो समयसम्म अवरुद्ध भएको दाङको विमान सेवा पछिल्लो समयमा उपमहानगरपालिकाको सक्रियतामा सञ्चालनमा आएको हो । अहिले नेपाल वायुसेवा निगमले सातामा तीन पटक उडान भरिरहेको छ ।

प्रकाशित मिति : ७ पुष २०७५, शनिबार ०८:५१