१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

सर्लाहीमा बाढीमा फसेका १० जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

१३ असोज, सर्लाही । सशस्त्र प्रहरी बलले सर्लाहीमा बाढीमा फसेका १० जनाको उद्धार गरेको छ । शनिबार अविरल वर्षासँगै आएको बाढीमा सर्लाहीको बसवरिया गाउँपालिका–२ स्थित एकादशी खोलाको बाढीमा फसेका उनीहरुको उद्धार गरिएको हो ।

सबै जनालाई उद्धार गरी उनीहरुको घरमा पुर्याइएको सशस्त्र प्रहरी बल १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिनुभयो । खेतीपाती गर्न तथा खोलामा माछा मार्न गएका उनीहरू एकादशी खोलामा पानीको सतह बढेपछि थुनिएका थिए ।

बसवरिया–२ की ४८ वर्षीया पटिया देवी, २२ वर्षीया कमरिया देवी, ४५ वर्षीया अकिरा देवी, तीन वर्षीय शिवु सहनी, चार वर्षीय शिवम् कुमार, ५४ वर्षीया धनसी सहनी, ५० वर्षीय हरि मुखिया, ५० वर्षीय विलाश सहनी, ५५ वर्षीय नबल सहनी र ५० वर्षीया दुखियादेवी सहनी रहेका प्रहरीले जनाएको छ ।

बाढीसँगै खोलामा माछा मार्न गएका उनीहरू एकातर्फबाट बागमती र अकोतर्फबाट एकादशी खोलाको बाढीले बीच भागमा थुनिएका सशस्त्र प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : September 29, 2024 at 10:23 am