९ पुष २०८१, मंगलवार | Tue Dec 24 2024

समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी

बाँके । उपचारका लागि समयमै अस्पताल नआउँदा सर्पदंशका बिरामीको अकालमै मृत्यु हुने गरेको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा यस वर्ष समयमै उपचार नपाएका सर्पदंशका १६ बिरामीको मृत्यु भएको छ । यस वर्ष वैशाखदेखि हालसम्म अस्पताल आउँदाआउँदै र उपचारकै क्रममा सर्पदंशका १६ बिरामीको ज्यान गएको अस्पतालका एनेस्थेसियोलोजिष्ट डा पारस पाण्डेले बताउनुभयो ।
समयमै सर्पले टोकेको थाहा नपाउँदा अस्पताल ल्याउन ढिलाइ भएका कारण उपचार नपाउँदा उनीहरूको मृत्यु भएको डा पाण्डेको भनाइ छ । पश्चिम नेपालका विभिन्न जिल्लाबाट प्रेषण भएका बिरामीको उपचार गर्दै आएको भेरी अस्पतालले यस वर्ष विषालु सर्पले टोकेका १२० जनाभन्दा बढी बिरामीको उपचार गरेको छ ।
यस वर्ष वैशाखदेखि हालसम्म विषालु सर्पले टोकेका विभिन्न जिल्लाबाट आएका १२० जनाभन्दा बढी बिरामीको भेरी अस्पतालमा उपचार भएको अस्पतालका एनेस्थेसियोलोजिष्ट डा पाण्डेले जानकारी दिनुभयो ।
सर्पदंशको उपचार हुने नेपालगञ्जस्थित भेरी अस्पतालमा सर्पले टोकेका बिरामीको चाप पछिल्लो समय बढेको छ । कहिलेकाहीँ सर्पदंशका बिरामीले नै अस्पतालको आकस्मिक कक्ष र आइसियु वार्ड भरिने गरेको भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले बताउनुभयो ।
उहाँका अनुसार भेरी अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लास्थित अस्पतालबाट सर्पदंशका बिरामी प्रेषण भएर आउने गरेका छन् । सर्पदंशका बिरामीलाई समयमै अस्पताल ल्याउन सके बिरामीको ज्यान जोगाउन सकिने भएकाले झारफुक तथा गाउँभरको परम्परागत उपचार विधिमा नलाग्न उहाँको आग्रह छ ।
सूचना अधिकारी डा रिसालका अनुसार सर्पले टोकेमा गाउँघरमा झारफुकको भरपर्दा यसले झनै जोखिम बढाउने गरेको छ । यस्ता परम्परागत विधिमा भरपर्दा ज्यानै जोखिममा परेपछि अन्तिममा अस्पतालमा ल्याउँदा ज्यान जोगाउन निकै मिहिनेत गर्नुपर्ने उहाँको भनाइ छ । भेरी अस्पतालले तराईमा पाइने कोब्रा, करेतजस्ता विषालु सर्पले टोकेका बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने गरेको छ । भाइपर प्रजातिका सर्पले टोकेर आउने बिरामीमा रगत पातलो हुने, रगत बग्ने, कलेजो र मिर्गौलामा असर पार्दा डाइलासिस गरी रगत चढाएर उपचार गर्ने गरेको डा रिसालले बताउनुभयो ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलवार १३:२३