२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

नेवाः संस्कृति देशको सांस्कृतिक वैभव हो: प्रधानमन्त्री ओली

२९ भदौ, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः संस्कृति देशको सांस्कृतिक वैभव भएको बताउनुभएको छ ।

ज्यापु समाज यलको ३१ औँ वार्षिकोत्सव तथा ११ औँ साधारणसभाका अवसरमा आज मङ्गलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेवाः संस्कृतिकै कारण मुलुक सांस्कृतिक रूपमा वैभवशाली बनेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेवार समुदायका खानाका अनेकौँ परिकार, मन्दिरका टुँडाल, काष्ठकला, संस्कृति र सभ्यताका परिचायक भएका बताउँदै संस्कृति र सभ्यता बिग्रिएमा सयौँ वर्षमा पनि बनाउन नसकिने उल्लेख गर्नुभयो ।

“राजनीतिक र आर्थिक स्थिति बिग्रिएमा केही वर्षमा बनाउन सकिन्छ । संस्कृति र सभ्यता बिग्रिएमा फेरि त्यसलाई पुरानै स्वरुपमा बनाउन सकिँदैन ।” प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रो संस्कृति र सभ्यता अमर रहोस् भनेर ज्येष्ठ नागरिकहरुले कामना गरिरहनुभएको छ । संस्कृति र सभ्यतालाई युवा पुस्तामा पुस्तान्तरण गर्दै जानु हामी सबैको दायित्व हो । ”

प्रधानमन्त्री ओलीले १०५ वर्षीया मनमाया महर्जनले कला–संस्कृतिको संरक्षणमा मार्ग निर्देश गर्नुभएकामा आभार प्रकट गर्दै उहाँको दीर्घायुको कामना गर्नुभयो । साथै उहाँले समाजका विविध क्षेत्रमा योगदान गरेका व्यक्ति तथा माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई सम्मान गर्नुभएको थियो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मुलुकको कला, संस्कृतिको संरक्षणमा अहं भूमिका निर्वाह गरेको बताउनुभयो । बागमती प्रदेशसभा सदस्य मधुसुदन पौडेलले ज्यापू समाज र संस्कृति नेपाली सभ्यताको धरोहर भएको बताउनुभयो ।

महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले ज्यापू समाजले आफ्नो परम्परा, भाषा, कला, संस्कृति संरक्षणमा उल्लेखनीय सहयोग पुर्याएको भन्दै समाजको सहयोगका कारण रातोमच्छिन्द्रनाथको रथयात्रा व्यवस्थित हुने गरेको बताउनुभयो ।

ज्यापू महागुथिका कार्यवाहक अध्यक्ष ज्ञानेन्द्र महर्जनले यो समाजले आगामी दिनमा आफ्नो समुदायका अधिकार स्थापित गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । त्यस अवसरमा प्रथम महिला राधिका शाक्य पनि उपस्थिति थियो ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार १७:०३