१२ पुष २०८१, शुक्रबार | Fri Dec 27 2024

दक्षिणकालीको टाटेसिमी र अकबरे खुर्सानी कतारमा

रूपेश आचार्य/रासस

२८ भदौ, काठमाडौँ । उपत्यकाको कम बजेट भएको र उद्योगधन्दासमेत खासै नभएको नगरपालिकामा गनिने दक्षिणकाली नगरपालिका खाडी राष्ट्र कतारमा तरकारी निर्यात गर्ने पहिलो नगरपालिका बन्न पुगेको छ । स्थानीय किसान प्रकाश बलामीका अनुसार बिहीबार २० जना किसानको रैथाने कृषि उपज टाटेसिमी कुल सात सय किलोग्राम र अकबरे खुर्सानी कतारतर्फ पठाइएको छ ।

“यसरी बाहिर पठाउँदा स्थानीय बजारमा पठाएभन्दा बढी मेहनत र खर्च लागे पनि राम्रो भाउ पाइन्छ”, किसान बलामीको भनाइ छ । नगरपालिकाको वडा नं ९ स्थित आफ्नै १३ रोपनी र भाडामा लिएको सात रोपनी गरी २० रोपनी जमिनमा कृषिकर्म गरिरहेका बलामीले जग्गाको अधिकांश भागमा टाटेसिमी नै लगाउनुभएको छ ।

“गाईवस्तुको मल हाल्दा धेरै र लामो समयसम्म फल्दोरहेछ”, बलामीको अनुभव छ । साउनबाट फल्न सुरु गर्ने टाटेसिमी कडा तुषारोले नभेटेमा माघसम्म नै फलिरहने उहाँको भनाइ छ ।

कृषिमा निर्यात गर्दै आएका संस्थाहरूले टाटेसिमीको निर्यात सम्भावना देखेपछि दक्षिणकालीका किसानलाई सो बाली लगाउन प्रोत्साहन गरेका थिए । प्रायः काउली र काँक्रो लगाइरहेका किसानले पनि दुवै बालीमा रोेग कीरा बढ्न थालेपछि वैकल्पिक बाली खोजिरहेका थिए । यस्तैमा ललितपुरस्थित कृषि विकास कार्यालयले किसान समूहलाई रु तीन लाख अनुदान दिएको जानकारी पनि उहाँले दिनुभयो । तरकारी निर्यातका लागि भने एक एग्रोजस्ता संस्थाले किसानलाई सघाउँदै आएका छन् ।

अब नासपाती र लप्सी पनि निर्यात गर्न पाए हुने थियो, बलामी थप्नुहुन्छ । कोरोनाकालमा ‘लकडाउन’का कारण लाखौँका लप्सी खेर गएको पनि उहाँले बताउनुभयो ।

अर्का किसान गीता बलामी महिलामध्ये ठूलो परिमाणमा खेती गर्नेमा पर्नुहुन्छ । आफू १७ वर्षको हुँदा कारितास नेपालले दिएको अग्र्यानिक खेतीसम्बन्धी तालिमबाट कृषिकर्ममा प्रवेश गरेकी उहाँले बिहीबार झण्डै तीन सय केजी टाटेसिमी निर्यातका लागि पठाउनुभएको थियो । वर्षायामभरि टाटेसिमी र खुर्सानीको खेती र हिँउदभरि लप्सीको क्याण्डी बनाएर बेच्ने उहाँ पनि लप्सी निर्यात गर्नसके फर्पिङका किसानले थप फाइदा पाउने बताउनुहुन्छ । बालबच्चा सानो भएका कारण केही वर्षयता लप्सीको क्याण्डी बनाउने काम रोक्नुपरेको थियो । विदेश पठाउन सकिने अवस्था आए फेरि त्यो उद्योग सुरु गर्न चाहन्छु, उहाँको भनाइ छ ।

यसबारे रासससँग कुरा गर्दै नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले कृषिबाटै नगरपालिकाले समृद्धि हासिल गर्न सक्छ भन्ने मनन् गरी विदेश निर्यात हुनेगरी उत्पादन गर्न किसानलाई प्रोत्साहन गरिएको बताउनुभयो ।

दक्षिणकाली नगरपालिकाकी कृषि शाखा प्रमुख पविता राईका अनुसार नगरपालिकाका विभिन्न स्थानमा गरी करिब ३२ रोपनी जमिनमा अर्को महत्त्वपूर्ण नगदेबालीका रूपमा जिम्बुको खेती हुन्छ । जिम्बु दाल, तरकारी अचार आदिमा विशेष स्वाद कायम गर्न प्रयोग हुन्छ । विगतमा हिमाली क्षेत्रमात्र स्रोत रहेका जिम्बुलाई हिमाली क्षेत्र मुस्ताङबाट ल्याइएका बीउले अहिले फर्पिङभरि फैलिएका छन् । नगरपालिकाका करिब ६५ घरका किसानले जिम्बुखेती गरेका छन् । हरेक घरले प्रतिमहिना दुईदेखि तीन क्विन्टल जिम्बु बेच्छन् । वर्षायाममा त १५–१५ दिनमै काटिरहेका हुन्छन्, राई बताउनुहुन्छ ।

जिम्बुलगायतका खेतका आली र डिलमा फूल र फलफूलको खेती गरेर थप आम्दानी गर्न समेत किसान हौसिएका छन् । सुरुमा घरवरपर त्यत्तिकै उम्रिएका फूल लगेर दक्षिणकाली मन्दिरका आउने दर्शनार्थीलाई बेच्दै सुरु भएको थियो फर्पिङमा फूल व्यवसाय । अहिले अन्यत्रसमेत निर्यात गर्नेगरी फैलिएको छ । मौसमी फूल बटुलेर बेच्ने स्थानीय किसान विगत चार–पाँच वर्षयता प्लाष्टिक टनेलमा बेमौसमी फूलखेती गर्ने भएका छन् । स्थानीय जातका गोदावरी र मखमलीको खेती खास सिजनमा मात्र हुने गरेको छभने फर्पिङमा कलकत्ते जात भनिने सयपत्रीको खेती सधैँ हुने गरेको छ ।

नगरप्रमुख बस्नेतका अनुसार नगरपालिकाले कृषिलाई आफ्नो प्रमुख उत्पादन मानेको छ । कृषिमा पनि परम्परागत निर्वाहमुखी बालीलाई भन्दा निर्यातको सम्भावना रहेका तरकारी, फलफूल र लप्सीजस्ता उत्पादन विगत चार दशकयता हुँदै आएको छ । ‘फर्पिङको नासपाती’ परम्परागत प्रसिद्ध ब्राण्ड हो ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार १०:४४