२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

थानापति मन्दिरमा व्यक्तिको रजाइँ, स्थानीय सरकार माैन

२८ भदौ, नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका पछिल्लो समय सञ्चार मध्यम र सामाजिक सञ्जालमा निकै चर्चित छ । अझ पछिल्लो एक महिनादेखि लौके झरनाका कारण ज्यदै चर्चामा छ । सामाजिक सञ्जालमा त लौके झरना अवलकोनको फोटो र भिडियो भाइरल बनिरहेको मात्र छैन साप्ताहिक रूपमा हजारौँ आन्तरिक पर्यटकले गाउँपालिकको विभिन्न स्थानको भ्रमण गरिरहेका छन ।

शिवपुरी वडा नम्बर ८मा रहेको लौके झरना मात्रै होइन त्यहाँ प्रसिद्ध थानापति मन्दिर पनि छ । जहाँ राज्यले पछिल्लो समय करोडौँ लगानी गरेर सतलसहितको पुनर्निमाणको काम समेत भइरहेको छ । गाउँपालिकामा पर्यटकको संख्या बढेसँगै यहाँको सरसफाइ र सार्वजनिक सम्पत्तिको उपयोगका बारेमा पनि अनेक प्रश्नहरू उठिरहेका छन ।

केही दिनयता थानापति मन्दिरमा निर्माण भैरहेको सतलमा खोस्टा राखेर र अन्य सामाग्री राखेर मन्दिर कब्जामा लिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भैरहेको छ । लौके झरनामा पुग्ने कतिपय पर्यटकहरू मन्दिरसम्म पनि जाने गरेका छन । तर मन्दिरको अव्यवस्था देखेपछि भने उनीहरूले स्थानीय सरकारले के हरेर बसेको भन्दै स्थानीय सरकारसँग प्रश्न गरिरहेका छन ।

मन्दिरको व्यवस्थापनका लागि एउटा समिति समेत क्रियाशिल रहेको छ । उक्त समितिको अध्यक्षमा शिवपुरी ८ कै पूर्व वडा अध्यक्ष पदम थपलिया हुनुहुन्छ । तर मन्दिरमा देखिएको भद्रगोल र फोहोर व्यवस्थापनमा खासै चासो दिएको पाइदैन ।

दैनिकीले थपलियासँग व्यक्तिहरूले अनधिकृत रूपमा मन्दिरको संरचना कब्जा गरेर प्रयोग गरिरहेको विषयमा प्रश्न गर्दा उहाँले त्यसरी खोस्टा सुकाउने लगायतको काम भएको स्वीकार गर्दै खुला भएकाले त्यस्तो भएको भन्दै आगामि दिनमा त्यस्तो नहुने र त्यो अहिले टाइएको बताउनुभयो । उहाँले कमी कमजोरीका बारेमा समय समयमा प्रश्न उठ्दा सुधारका निम्ति मार्ग बन्ने समेत बताउनुभयो ।

पुरातत्व विभागले १ करोड ७८ लाख रूपैयाँको ठेक्का लगाएर मन्दिरको काम गरिरहेको छ । मन्दिरको प्रयोगका लागि निर्माण भएको सतल नै स्थानीयले कब्जा गरेर दुरूपोग गर्नु त्यति राम्रो कुरा होइन । यसमा स्थानीय सरकारले पनि चासो लिएर संरक्षणमा ध्यान दिनुपर्छ । यद्यपी स्थानीय सरकार शिवपुरी गाउँपालिकाले मन्दिरको व्यवस्थापन र संरक्षणका बारेमा चासो लिएर काम गरेको छैन ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार ११:२७