१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

सङ्खुवासभावासीको विकासप्रतिको चाहना सरकारले पूरा गर्नेछ: ऊर्जामन्त्री खड्का

२५ भदौ, सङ्खुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभावासीको विकासप्रतिको चाहनालाई पूरा गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस सङ्खुवासभा प्रदेश (ख)ले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काको सम्मानमा चैनपुरमा आयोजित  कार्यक्रममा बोल्दै उहाँले विकासको हिसाबले पछि परेको सङ्खुवासभालाई अगाडि लैजान प्रतिबद्ध भएर लाग्ने बताउनुभएको हो ।

“वर्तमान सरकार समृद्ध मुलुक निर्माण गर्ने अभियानमा छ, उक्त अभियानमा सङ्खुवासभा छुट्दैन,” उहाँले भन्नुभयो । सङ्खुवासभाको खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालय निर्माण गर्ने निर्णय सरकारले गरिसकेको उहाँले जानकारी दिनुभयो ।

ऊर्जामन्त्री खड्काले जलस्रोतको धनी जिल्ला सङ्खुवासभामा पर्यटन र कृषिमा समेत उत्तिकै सम्भावना रहेको उल्लेख गर्नुभयो । सङ्खुवासभाको विद्युत्को सदुपयोग गर्न सके देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने मन्त्री खड्काको भनाइ छ । “निराशा हुने होइन, आश जगाएर अगाडि बढेमात्र सङ्खुवासभाको विकास हुन्छ,” उहाँले भन्नुभयो ।

उहाँले गरिब र विपन्न वर्गलाई सम्पन्न नबनाई मुलुक सम्पन्न नहुने भएकाले उनीहरुलाई सम्पन्न बनाउने गरी सरकारले काम सुरु गरेको बताउनुभयो । जल तथा ऊर्जा आयोग सचिवालयका सचिव सुरेश आचार्यले सङ्खुवासभा जलस्रोतको भण्डार र ऊर्जाको सम्भावना भएको जिल्ला भएकाले यसको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले जलविद्युत्सँगै पर्यटन र कृषिको विकास गर्नसके सङ्खुवासभाले आर्थिक विकासमा फड्को मार्ने उल्लेख गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सङ्खुवासभामा पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको बताउनुभयो । उहाँले सङ्खुवासभाका ९० प्रतिशत भुभागमा विद्युतीकरण भएकाले बाँकी क्षेत्रमा पनि चाँडो विद्युत् विस्तार हुने जानकारी दिनुभयो । सङ्खुवासभाको भाग्य र भविष्य ऊर्जा क्षेत्रमा भएको उहाँको भनाइ थियो ।

नेपाली कांग्रेस सङ्खुवासभा प्रदेश (ख)का सभापति दीपेन्द्रमान शाक्य, उपसभापति लोकबहादुर लिम्बूलगायतले समृद्ध सङ्खुवासभा निर्माणका लागि नवनियुक्त ऊर्जामन्त्रीले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरुले जिल्लाको जलविद्युत् क्षेत्रको विकास, तालको संरक्षण, सौर्यबत्तीको जडान, पर्यटक क्षेत्रको विकास, खानेपानी विकास, कोशी राजमार्गको विस्तार, अस्पतालको क्षमता अभिवृद्धिलगायत माग राख्नुभएको थियो ।

प्रकाशित मिति : September 10, 2024 at 5:37 pm