रामपुर घटनाः यस्तो छ वास्तविकता
२५ भदाै, काठमाडाैँ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा भदौ १४ गतेदेखि पठनपाठन बन्द भएको छ । विश्वविद्यालय अन्तर्गतका अधिकांश क्याम्पसमा यतिबेला पढाई ठप्प छ । छात्रावासमा सत्तारु विद्यार्थी संगठनहरुबिच भएको झडपको विषयले पढाई ठप्प हुन पुगेको हो । विद्यार्थीहरु कलेज खुले पुनः झडप हुने त्रासमा छन् । त्यसैले उनीहरु अनलाइन पढाई हुनु पर्ने अडानमा छन् तर डिन अनलाइन पढाइका लागि तयार नभएकोले आफूहरुले पढ्न नपाएको उनीहरुको भनाइ छ ।
कसरी सुरु भएको थियो त घटना ?
स्थानीय विद्यार्थी समाज रामपुर चितवनले “टग अफ वार” अर्थात् डोरी तान्ने (रस्सा–कस्सी) प्रतियोगिता आयोजना गर्दछ । जसको फाइनल खेल आठौं ब्याच र नवौं ब्याचका विद्यार्थीबिच हुन जान्छ । आठौं व्याचको टीममा नेविसंघका विद्यार्थीहरुको संख्या र नवौं ब्याचमा भने अनेरास्वयियुका विद्यार्थीको संख्या बढी देखिन्छ । “टग अफ वार” खेल प्रत्येक वर्ष स्थानीय विद्यार्थी समाजले आयोजना गर्दै आएकोे छ । जसको अघिल्लो बर्षको विजेता आठौं व्याच रहेको थियो । आठौं ब्याचको नेविसंघनिकट विद्यार्थीको टीमले अघिल्लो वर्ष पनि आफ्नो टीमले जितेको र यस बर्ष पनि जित्ने भन्दै अन्य टीमलाई होच्याउने काम गरेका थिए । जसलाई नवौं ब्याचको टीमले प्रतिस्पर्धाको भावनाले नै हेरेको सहभागी एक विद्यार्थीले बताए ।
उनका अनुसार, २०८१ साल भदौ १२ गते, नेविसंघका विद्यार्थीहरु रक्सी खाएर रातको १ बजेको आसपास अनेरास्ववियुका विद्यार्थीहरुलाई नाम तोकेर सिङ्गलसिङ्गल भिड्न आइज भन्दै अराजक व्यवहार देखाउने, सगरमाथा छात्रावास परिसरको चौतारामा पिसाब गर्ने, रक्सीको बोटल ल्याएर सगरमाथा छात्रावासमा फुटाउने, साइकललाई उचालेर पछार्नेजस्ता मर्यदाहीन तथा अपमानित व्यवहार गरे । त्यसको भोलिपल्ट भदौ १३ गते अनेरास्वयियुको समूहले अघिल्लो रातको होहल्लाबारे, शान्तिपूर्वक कुरा गर्ने हेतुले धौलागिरी होस्टेल जाँदै गरेको अवस्थामा नेविसंघका विद्यार्थीहरुले ढुंगा हान्दै झगडाको बिउ रोप्न थालेको अखिल समर्थित विद्यार्थीले बताए ।
अखिलको आरोपः नेविसंघको अराजक गतिविधि गर्यो
अखिलले नेविसंघको अराजक गतिविधि गर्दै झगडा गर्न थप मलजल गरेको आरोप लगाएको छ । झगडाले उग्र रुप लिन थाल्यो । रड, ढुंगा, पेट्रोल बमलगायत धारिला हातहतियारसहित गुण्डागर्दी शैलीमा नेविसंघका विद्यार्थीहरुले गरेको आक्रमणलाई अनेरास्वयियुका विद्यार्थीहरुले आत्मसंरक्षणका लागि बुद्धिमत्तापूर्वक असफल बनाउने क्रममा ३० जना विद्यार्थीहरू गम्भीर घाइते भए । प्रहरीको उपस्थितिपश्चात घटनाक्रमले अझै उग्र रुप लियो । प्रहरीको आडमा झगडा गरेका नेविसंघ, जोश र गुन्डागर्दी शैलीले भरिपूर्ण भइ ह्वाइटहाउस छात्रावासमा गई तोडफोड गरी कोठामा भएको ल्यापटप पनि चोरेर लगेका थिए । देशको एक मात्र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा पढ्ने नेविसंघ टोलीको यो हर्कतले सम्पूर्ण विश्वविद्यालयमा लाजमर्दो अवस्था सिर्जना गराएको छ ।
नेविसंघ, डीन र कलेज प्रशासनको मिलेमतो
विश्वविद्यालय प्रशासनद्वारा २०८१/०५/१४ गते दिउँसो ४ः०० बजेसम्म होस्टेल खाली गराउने भन्दै जारी भएको सूचनालाई आधार मानेर अनेरास्ववियुका विद्यार्थीहरुले समयमै होस्टेल खाली गरेर निस्किएपछि समेत डीन तथा प्रशासनले होस्टेलको सुरक्षा नदिएर अराजक शैलीका नेविसंघको प्रयोग गरी पक्षपोषण गर्दै अनेरास्ववियुका विद्यार्थीहरुको कोठा फोरेर ८ वटा ल्यापटपलगायत अन्य सामानहरु चोरी भएको थियो । “यस घटनामा डीन, प्रशासन र डीनको संरक्षणमा रहेका नेविसंघको पूर्ण संलग्नता रहेको छ । अनाहकमा निर्दोष विद्यार्थीलाई हिरासतमा लिई अनावश्यक दुख दिने काम भएकोले तत्कालै रिहाई र सत्यतथ्य छानबीन गरी दोषीलाई कडा कार्वाही नभएमा अनेरास्ववियु चुप लागेर नबस्ने चेतावनी दिन चाहन्छौं”, अनेरास्ववियुको विज्ञप्तिमा बताइएको छ ।
यो सम्पूर्ण घटनाक्रमलाई नियाल्दै गर्दा विश्वविद्यालयमा नेविसंघ र अनेरास्ववियुबीच भएको मुठभेडलाई नेविसंघले एकपक्षीय रूपमा भ्रामक प्रचारप्रसार गरिएको देखिएको छ । विश्वविद्यालयमा पदाधिकारीहरू परिवर्तन हुने समय नजिकिएसंगै व्यक्तिगत राजनीतिक पक्षपोषण गर्ने हेतुले हारको मानसिकता बोकेका डीनको प्रत्यक्ष संरक्षणमा रहेको नेविसंघ अराजक ब्यक्तिहरूको आडमा अनेरास्ववियुका विद्यार्थीहरुमाथि गरिएको सांघातिक आक्रमणलाई अनेरास्ववियुका विद्यार्थीले आत्मरक्षाको लागि प्रतिवाद गरेको देखिन्छ । सुरक्षाकर्मीबाट अनेरास्ववियुका विद्यार्थीलाई सुरक्षित स्थानमा लैजाने आस्वासन दिएर गाडिमा चढाई झुक्याएर हिरासतमा थुन्ने, मुद्दा चलाउने जस्ता क्रियाकलाप गरेको प्रति देशमा सुरक्षा निकाय प्रतिको विश्वास र कार्यशैली प्रति सबैमा शंका उत्पन्न बनाएको छ ।
समस्या समाधानका लागि सम्भावित दुर्घटनाबाट जोगिन र जोगाउने हेतुले होस्टेलको ढोका बन्द गरेको अवस्थामा पनि नेविसंघको जत्थाले घरेलु हातहतियार सहित पेट्रोल बम प्रहार गरेकोमा हिंसात्मक क्रियाकलाप देखाएका प्रितम भण्डारी र कमन दाहाल आफै घाइते हुँदा अहिले उपचारको क्रममा छन् । नेविसंघले हिंसात्मक अराजकतालाई लुकाउन आफ्नै साथीहरुमाथि गरेको आत्मघाती डरलाग्दो घातक प्रहारलाई लुकाउन अनेरास्ववियुका विद्यार्थीमाथि दोष लगाउनु निकृष्ट हारको मानसिकताबाट ग्रसित मनोविज्ञानको उपज हो । विद्यार्थीहरूलाई व्यक्तिगत दुस्मनीको आधारमा किटानी जाहेरी दिँदै मुद्दा चलाउनु नितान्त प्राध्यापकको राजनीतिक कुर्सीको चलखेल हो भन्ने कुरा बुझ्न सकिन्छ । घटनास्थलका विद्यार्थीहरुसँग बुझ्दै गर्दा, घटनास्थलमा सुरक्षा निकायको उपस्थिति ढिलो हुनु, गृह प्रशासनबाट खटाइएका सुरक्षाकर्मीहरूकै अगाडि पेट्रोल बम प्रहार, घरेलु हातहतियार निर्माण एवं प्रहार हुनु, होस्टेल तोडफोड हुनु, होस्टेलमा आगजनी गर्नुले डीनको योजनामा घटना घटाईएको प्रष्ट देखिएको छ ।
“अनेरास्ववियुको शान्तिपूर्ण आग्रहको बेवास्ता भएमा निर्दोष विद्यार्थीका न्यायको लागि जस्तोसुकै सशक्त संघर्षमा उत्रन बाध्य हुने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्ष नै हुने चेतावनी दिन चाहन्छौं”, अनेरास्ववियुको विज्ञप्तिमा बताइएको छ ।
प्रहरी प्रशासनसँग नेविसंघको साँठगाँठ
उक्त झगडा त्यहीँसम्म सीमित रहेन । रातको समयमा प्रहरीको निगरानी हुँदाहुँदै नेविसंघका विद्यार्थीहरुले ज्यान मार्ने अठोटका साथमा सगरमाथा छात्रावासभित्र पेट्रोल बम फाले । पेट्रोल कपडामा हालेर जलाउने काम भयो । नेविसंघको यो गुन्डागर्दी शैलीले होस्टेल परिसर निकै आतंकित बनाएको थियो । भोलिपल्ट नेविसंघ र प्रहरीको मिलेमतोमा अनेरास्वयियुको केही विद्यार्थीहरुलाई, उनीहरुको टार्गेटमा रहेको र उनीहरुलाई कडा सेक्युरिटीका साथ पुलिसको गाडीमा लैजाने झुटो आशा दिलाएर जिल्ला प्रहरी कार्यालय चितवन लगेर थुन्ने काम भयो । जेलमा समेत घाइते विद्यार्थीलाई मानसिक तनाब दिएर प्रहरी प्रशासनले नेविसंघ चितवनको साथमा राजनीति गरेको छ । गम्भीर घाइते भएका विद्यार्थीहरुलाई प्रहरीले अस्पताल जाने कामलाई जानाजान ढिलो हुने काम गरियो । जेलमा रहेका अनेरास्वयियुका विद्यार्थीहरुलाई ४–५ दिन हुँदासम्म अस्पताल लैजाने कुनै छाँटकाँट देखिएन । “जेलमा गार्हो हुदै गर्दा पनि, मान्छेको स्वस्थ्यमा पनि राजनिती गरेर नेविसंघका नेताहरुले भाइरल ज्वरोको शिकार बनाए”, घाइते विद्यार्थीमध्ये एक जनाले भने । जेलमा रहेका ५ जना अनेरास्वयियुका विद्यार्थीहरुको भाइरल ज्वरोका कारण अस्पातालमा भर्ना भएका छन् ।
अनेरास्ववियुको माग
घटनाको ३६ घण्टासम्म केही सुनुवाइ नहुँदा शारीरिक, मानसिक सबै हिसाबले कमजोर बनेका हामीलाई सुरक्षित हिसाबले क्याम्पस परिसरबाट निकाल्ने आश्वासन प्रहरी प्रशासनले दिन्छ। पुनः षड्यन्त्र गरिन्छ र निर्दोष हाम्रा साथी भाइहरूलाई जिल्ला प्रहरी कार्यालय, चितवन पुर्याइन्छ । प्रहरीका आँखै अगाडि घटेका घटनालाई राजनीतिक हिसाबले परिमार्जित गरेर बाहिर ल्याइन्छ अनि हाम्रा साथीभाइलाई विभिन्न अभियोग लगाइन्छ । आफैँ गुन्डागर्दीमा संलग्न हुने, डीन र प्रहरीका आड लाएर शक्तिको प्रदर्शन गर्ने, सत्य घटनालाई परिमार्जन गरी झूटा मुद्दा दायर गर्ने र निर्दोष साथीभाइहरूलाई सुरक्षाको नाममा प्रहरी कार्यालयमा पु¥याएर यातना दिने, अनि घटनाको प्रत्यक्षदर्शी रहेर पनि प्रहरी प्रशासनले सत्य बाहिर आउन नदिनु कतिसम्म उचित हो ? हाम्रो अहिलेको एक मात्र प्रमुख माग भन्नु लागेका झूटा आरोपको परिमार्जन गर्दै निर्दोष साथीभाइको सकुशल उद्धार हो । सत्य घटनालाई दबाएर झूटो विवरण सार्वजनिक भएको यथार्थलाई बुझेर, निर्दोष साथीभाइको अवस्थाले एकाएक कमजोर बनेको हाम्रो मनोबललाई बनाइराख्न अनि सत्य घटनालाई सार्वजनिक गरी लागेका आरोपलाई मेटाउन र हाम्रा साथीभाइको तुरुन्त रिहाइको सिंगो अनेरास्ववियु अपेक्षा राख्दछ ।
प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलवार ०८:०३