२७ कार्तिक २०८१, मंगलवार | Wed Nov 13 2024

विपद्मा परेका व्यवसायीलाई सहयोग गर्न राहत कोषमा जुट्न थाल्यो रकम

२३ भदौ, झापा ।  विपद्मा परेका व्यवसायीलाई सहयोग गर्न विर्तामोड उद्योग वाणिज्य सङ्घले स्थापना गरेको ‘सदस्य राहत कोष’मा सहयोग रकम जुट्न थालेको छ ।

विपत्तिका बेला तत्काल सहयोग गर्ने उद्देश्यले सङ्घले रु एक करोडको अक्षयकोष बनाउने निर्णय गरेको थियो । सङ्घमा पाँच हजार ६ सय ६२ जना सदस्य आबद्ध छन् । सङ्घका सदस्य व्यवसायी पर्वत कार्कीले कोषमा रु एक लाख ११ हजार एक सय ११ दाखिला गर्नु भएको सङ्घका अध्यक्ष राजु न्यौपानेले बताउनुभयो ।

हालसम्म रु आठ लाखभन्दा बढी रकम सङ्कलन भइसकेको छ । आगलागी, बाढी, चोरी, लुटपाटलगायत घटनामा सदस्यले कोषबाट आर्थिक सहयोग पाउने कार्यविधि बनाइएको जानकारी उहाँले दिनुभयो ।

“कार्यालयमा आएर कतिपयले सहयोग गरीरहनुभएको छ”, वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरेले भन्नुभयो, “पाँच हजारभन्दा धेरै सदस्य हुनुहुन्छ । उहाँहरु यतिबेला कोष बन्ने कुराले उत्साही हुनुहुन्छ । सबैले अलिअलि सहयोग गर्नुभयोभने कोषमा रु एक करोड सहजै जुट्नेछ ।”

प्रकाशित मिति : २३ भाद्र २०८१, आईतवार ११:३९