३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

वीरगञ्जमा पाँच दिने गणेश चतुर्थी महोत्सव सुरु

२२ भदौ, पर्सा । वीरगञ्जमा गणेशको पूजा आराधानासहित गणेश चतुर्थी महोत्सव सुरु भएको छ । भाद्र शुक्ल चतुर्थीदेखि भाद्रशुक्ल अष्टमीसम्म गणेशको पूजाआराधाना गरेर गणेश चतुर्थी महोत्सव मनाइँदैछ ।

जय गणेश झन्कार मण्डल परिवारका उपाध्यक्ष राकेशकुमार साहले शनिबारदेखि बुधबारसम्म भगवान गणेशको पूजाआराधाना गरेर गणेश चतुर्थी मनाउन लागेको बताउनुभयो । ‘‘आज विशेष पूजाआराधाना गरेर भगवान् गणेशको जन्मदिनको सुरुवात गर्दैछौँ’’, उहाँले भन्नुभयो, ‘‘हामीले भगवान् गणेशको असाध्यै प्रिय प्रसाद एक सय ५१ किलोग्राम लड्डुसहित पूजाआराधाना गर्दैछौँ । यहाँ हजारौँ भक्तजनहरुको उपस्थिति रहने अपेक्षा रहेको छ ।’’

वीरगञ्ज महानगरपालिका–१० मा अवस्थित घडीअर्वा पोखरीसँगै रहेको रामजनकी मन्दिरको प्राङ्गणभित्र गणेश भगवान्को प्रतिमा तयार पारेर पूजा आराधाना गरिदैछ । उपाध्यक्ष साहले मण्डलले २८औँ पटक गणेश चतुर्थी महोत्सव गर्न लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबारदेखि बुधबारसम्मको अवधिमा भजन–किर्तन, अखण्ड ज्योति, छप्पन भोग प्रसाद र लडुमहाप्रसाद वितरण लगायतका गतिविधि गरिनेछ । ‘‘मुलुकमा शान्ति र समृद्धिको कामना र जनताको सुवास्थ्यको कामना गर्दै मनाइँदैछ’’, उहाँले भन्नुभयो । मण्डलका संस्थापक सदस्य मदनप्रसाद कानु सम्पूर्ण मानव जातिको रक्षा र सुख समृद्धिको कामना गर्दै गणेश चतुर्थी मनाइने बताउनुभयो । ‘‘आजबाट गणेश चतुर्थी महोसत्व सुरु भएर पाँचौँ दिनमा विर्सजन हुने गर्छ’’, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार १२:२२