२७ भाद्र २०८१, बिहीबार | Thu Sep 12 2024

तीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

१९ भदौ, काठमाडौँ । मुलुकका तीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गरिएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल र मोरङको विराटनगरस्थित कोशी प्रदेशिक अस्पतालमा सो उपचार सेवा विस्तार गरिएको हो ।

सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गर्न चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको छ । अस्पतालमा आज यस सम्बन्धमा दुवै अस्पतालबीच सम्झौता भएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा शिवजी पौडेल तथा सेती प्रादेशिक अस्पतालका तर्फबाट प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा शेरबहादुर कमरले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तर्फबाट सुर्खेत प्रादेशिक अस्पताल र कोशी प्रादेशिक अस्पतालसँग यसअघि नै सम्झौता भइसकेको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । मन्त्रालयका अनुसार मधेश प्रदेशमा समेत यो सेवा चाँडै विस्तार गर्ने तयारी छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गत असार ३१ गते पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति, २०२४–३० स्वीकृत गर्नुभएको थियो । क्यान्सर उपचार सेवा सातवटै प्रदेशमा विस्तार गर्ने लक्ष्य छ ।

त्यसलगत्तै गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा मन्त्री पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गर्नुभएको थियो ।

यसलगत्तै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नो जिम्मामा रहेका अस्पतालमा विस्तारित उपचार सेवाको सम्झौता गरेर उपचार सेवा आरम्भ गरेको हो ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार १७:२७