१५ माघ २०८२, बिहीबार | Thu Jan 29 2026

हिमपहिरोले थुनियो बोक्सेखोला

७ भदौ, म्याग्दी। मुस्ताङको थासाङ गाउँपालिका–२ मा धौलागिरि हिमालबाट खसेको हिमपहिरोले शुक्रबार दिउँसो बोक्सेखोला थुनिएको छ ।

बोक्सेखोला कालीगण्डकी नदीको सहायक खोला हो । मुलखर्क भन्ने ठाउँको पहाडको खोँचमा हिमपहिरो थुप्रिँदा बोक्सेखोलामा पानीको मात्रा घटेको थासाङ गाउँपालिका–२ कोवाङका वडा अध्यक्ष गौतम शेरचनले बताउनुभयो ।

“शुक्रबार दिउँसो करिब १ः३० बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिएको हो,” उहाँले भन्नुभयो, “हिउँको थुप्रोले खोलामा पानीको मात्रा घटेको छ ।”

जिल्ला प्रशासन कार्यालय मुस्ताङले बोक्सेखोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । आसपासमा बस्ती नभएपनि बेनी–जोमसोम सडक बोक्सेखोला किनारमा पर्दछ ।

कोवाङमा रहनुभएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपहिरो थुप्रिएको ठाउँमा शसस्त्र प्रहरीको टोली पठाएको बताउनुभयो । “ड्रोनबाट हिमपहिरो थुप्रिएको ठाउँको अवलोकन गर्दा खोला थुनिएर तलाउ बनेको नदेखिएकाले जोखिम कम हुने अनुमान गरेपनि सतर्कता अपनाउनुपर्ने छ,” उहाँले भन्नुभयो, “बेनी–जोमसोम सडकमा यात्रा गर्नेलाई बोक्सेखोला छेउछाउमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।”

खोलाको छेउछाउ चराउन लगिएका बस्तुभाउ र घाँसदाउरा गर्न गएका किसान पनि सुरक्षित ठाउँतर्फ गएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार १६:२७