१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

राष्ट्रियसभाबाट टीआरसी विधेयक पारित

६ भदौ, काठमाडौँ । राष्ट्रियसभाबाट सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक विनासंशोधन पारित भएको छ ।

सभाको आजका बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गर्नुभएको ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

त्यसअघि कानुनमन्त्री चौरसियाद्वारा प्रस्तुत ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्तावमाथि दफावार प्रारम्भ हुने जानकारी गराउनुभएको थियो । उहाँले उक्त प्रस्तावमाथि संशोधन प्रस्ताव दर्ता नभएको व्यहोरा जानकारी गराउनुभयो । सो प्रस्तावमाथि दलीय आधारमा छलफल भएको थियो । राष्ट्रियसभाले सो विधेयक पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएको छ ।

उक्त विधेयक प्रतिनिधिसभाबाट गत साउन ३० गते पारित भएको थियो । सो विधेयक २०७९ फागुन २५ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । प्रतिनिधिसभामा उत्पत्ति भएको सो विधेयक सभामुख देवराज घिमिरेबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष जानेछ ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै सो ऐन कार्यान्यवनमा आउनेछ । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ९ गते आइतबार अपराह्न १ः१५ बजे बस्नेछ ।

प्रकाशित मिति : August 22, 2024 at 5:40 pm