अमेरिकाका तीन राज्यमा गौरा महोत्सव आयोजना हुने
शङ्कर थापा / रासस
६ भदौ, अमेरिका । अमेरिकामा रहेका सुदूरपश्चिमेलीले यस वर्षको गौरा पर्वलाई उत्सवका रुपमा मनाउने भएका छन् । अमेरिकाको न्युयोर्क, मेरिल्यान्ड र टेक्सासमा रहेका सुदूरपश्चिमेलीले यही भदौ ९ गते (अगस्त २५) का दिन गौरा महोत्सव आयोजना गर्न लागेका हुन् ।
राज्यस्तरमा स्थापना भएका सुदूरपश्चिम नेपाली समाजको आयोजनामा हुन लागेको गौरा महोत्सवको आवश्यक तयारी गरिएको छ । गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्रमुख सांस्कृतिक चाड हो । सुदूरपश्चिम प्रदेशमा साताव्यापी रुपमा मनाउने गरिए पनि अमेरिकाको न्युयोर्क, मेरिल्यान्ड र टेक्सासमा एक दिन उत्सवका रुपमा मनाउन लागिएको मेरिल्यान्डका समाजसेवी तथा समाजका पूर्वअध्यक्ष दमनविक्रम शाहले बताउनुभयो । आयोजकका अनुसार गौरा महोत्सवका दिन सुदूरपश्चिमको प्रमुख बाजा दाइन, दमाहा, झ्यालीसहित सांस्कृतिक झाँकीहरुको प्रदर्शनी, डेउडा, छलिया, हुड्केली तथा गौरा नाचका साथै सुदूरपश्चिमका चर्चित कलाकारको प्रस्तुति रहने छ ।
नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सास राज्यमा भौगोलिक बनावटअनुसार ड्यालस र अस्टिन गरी दुई स्थानमा गौरा उत्सव कार्यक्रमको आयोजना गरिने छ । सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष गगन केसीका अनुसार गौरा महोत्सवमा गौरादेवीको पूजाआजा, विभिन्न सांस्कृतिक झाँकीको प्रदर्शनी, डेउडा खेल, छलिया तथा हुड्केली नाच तथा सुदूरपश्चिमका चर्चित कलाकार नन्दकृष्ण जोशी, शङ्करसिंह विष्ट लगायतका कलाकारहरुको प्रस्तुति रहनेछन् ।
सुदूरपश्चिममा भएका पौराणिक सभ्यतामध्ये गौरा सभ्यता सबैभन्दा प्राचीन मानिन्छ । गौरा पर्व सुदूरपश्चिम प्रदेशको विशेष पर्व भएकाले सुदूरपश्चिमेलीहरुले जहाँ भए पनि गौरा पर्वलाई महत्वका साथ मनाउँदै आएका छन् । अमेरिकामा विभिन्न स्थानमा रहेका सुदूरपश्चिमेलीलाई एकै स्थानमा जम्मा गरेर गौरा पर्व मनाउँदा सांस्कृतिको संरक्षण हुने सुदूरपश्चिमेली अगुवाको धारणा छ । प्रवासमा गौरा पर्व मनाउँदा सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणमा टेवा पुग्नाका साथै अमेरिकामा जन्मेका र हुर्केका नयाँ पुस्तामा संस्कृति पुस्तान्तरण हुने सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कका पूर्वअध्यक्ष रामबहादुर देउवा बताउनुहुन्छ ।
महादेव वर पाउन देवी पार्वतीले गरेको कठिन तपस्या र व्रतको सम्झना गर्दै सुदूरपश्चिममा पौराणिककालदेखि मनाइँदै आएको पर्वका रुपमा गौरालाई लिइन्छ । गौरा विसर्जन गरिने मठमन्दिरमा भाद्र सङ्क्रान्तिका दिन पुरुष जम्मा भएर देवीदेवताको ठाडो (डेउडा) खेल लगाउँदै गौरा पर्व सुरु भएको सन्देश दिने गरिन्छ ।
पञ्चमीका दिन महिलाले सामूहिक रुपमा बिरुडा (पाँच प्रकारका अन्न मिसाएर बनाइने) स्थानीय जलाशयमा गएर भिजाउने, अर्को दिन परम्परागत कुवा र नाउलामा गौरा पुज्ने तथा अमुक्ताभरण सप्तमीका दिन गौरा भित्र्याउने चलन छ । एक साता मनाइने गौरा पर्व धार्मिक मात्र नभएर सुदूरपश्चिमको सांस्कृतिक र सामाजिक महत्व बोकेको प्रमुख पर्व भएको टेक्सासको अस्टिनका समाजसेवी भोजराज भट्टको धारणा रहेको छ ।
“एकातिर देवीदेउताका चैत, फाग, धुमारी, ठाडो खेल र डेउडा गाएर धार्मिक लोककाव्य जीवन्त राख्ने परम्परा छभने अर्कोतिर नेपाल एकीकरणका वीरगाथा डेउडाका रूपमा गाएर राष्ट्रिय एकतालाई पनि गौरा पर्वले संरक्षण गरेको हुन्छ, सामाजिक अनुशासन, धार्मिक अनुशासनसँगै पारिवारिक अनुशासनसँग पनि पर्वको महत्व जोडिएको छ”, उहाँले भन्नुभयो, “रामायणकाल, महाभारतकाल र आधुनिक कालखण्डलाई जोड्ने गौरा पर्वले विगतलाई सम्झिने, वर्तमान र भविष्यलाई सुखद बनाउने लक्ष्यअनुरूप मनाउने गरेको पाइन्छ ।”
प्रकाशित मिति : 15:43









