१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

राज्यको सर्वाङ्गीण विकासका लागि युवालाई उपयुक्त अवसर प्रदान गर्न नीति आवश्यक छ: राष्ट्रपति पौडेल

२८ साउन, काठमाडौँ  । राज्यको सर्वाङ्गीण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभएकाे छ ।

काठमाडाैँमा आज अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा सम्मेलन, २०२४ लाई सम्बोधन गर्दै राष्ट्रपतिले सङ्घीयता, सूचना प्रविधिको विकास र बदलिँदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पार्नुभयाे ।

‘राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण सिर्जना गरी युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद तथा मनोरञ्जनलगायतका क्षेत्रमा पनि अवसर प्रदान गर्न जरुरी छ, वाहाँले भन्नुभयाे ।

राष्ट्रपति पौडेलले परिवर्तित विश्व परिवेश, विज्ञान प्रविधिमा आएको नवीनतम विकासको सन्दर्भमा  युवासम्बद्ध समस्याहरूलाई सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयाे । ‘यी चुनौतीहरूलाई सम्बोधन गर्न युवालाई राष्ट्र र राष्ट्रियताप्रति समर्पित, वैयक्तिक स्वतन्त्रता, विश्वशान्ति, सह–अस्तित्वको भावना जगेर्ना, विश्वव्यापी मानवअधिकारको सिद्धान्त, वातावरणीय सम्पदाको संरक्षण र संवर्धन तथा विभिन्न जातजाति,  भाषा,  धर्म,  संस्कृतिबिच सहिष्णुता कायम गर्दै  युवाको शिक्षा, रोजगारीलगायतका आवश्यकताको परिपूर्ति समतामूलक वितरणको सिद्धान्तको आधारमा गर्न आवश्यक छ ।’

प्रकाशित मिति : August 12, 2024 at 12:53 pm