२७ भाद्र २०८१, बिहीबार | Thu Sep 12 2024

सिद्धार्थ बैंकको ‘सिद्धार्थ रिवार्ड्स’ योजना सञ्चालनमा

२७ साउन, काठमाडाैँ । सिद्धार्थ बैंकको ‘सिद्धार्थ रिवार्ड्स’ योजना सञ्चालनमा अाएको छ । योसँगै सिद्धार्थ बैंकले नेपालको बैंकिङ क्षेत्रमा फरक प्रयासको थालनी गरेको छ । बैंकले डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘सिद्धार्थ रिवार्ड्स’ योजना सञ्चालनमा ल्याएको जनाएको छ ।

सिद्धार्थ बैंकले सञ्चालनमा ल्याएको नयाँ योजनाले निश्चित मात्रामा रिवार्ड प्वाइन्ट्स संकलन भइसकेपछि त्यही प्वाइन्ट्सबाटै खर्च गर्ने अवसर दिएको छ । यस योजनाअन्तर्गत बैंकका ग्राहकले हरेक डिजिटल कारोबारमा ‘सिद्धार्थ रिवार्ड प्वाइन्ट्स’ प्राप्त गर्न सक्नेछन् ।

के हो ‘सिद्धार्थ रिवार्ड’ योजना ?

‘सिर्द्धार्थ रिवार्डस्, यसमा प्वाइन्ट छ’ भन्ने नाराका साथ बैंकले यो नयाँ योजना लागू गरेको छ । यसबाट डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने र आफ्ना ग्राहकहरुलाई सुविधा दिने बैंकको दाबी छ । यो योजनामा ग्राहकले प्रत्येक कारोबारमा कम्तिमा १ देखि बढीमा ५०० सम्म अंक (प्वाइन्ट) प्राप्त गर्न सक्नेछन् । यसका लागि प्रत्येक १०० रुपैयाँको कारोबारमा १ रिवार्ड प्वाइन्ट प्राप्त हुनेछ ।

उक्त योजनाअन्तर्गत ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड तथा मोबाइल बैंकिङ जस्ता बैंकको डिजिटल प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने छ । यसरी हुने भुक्तानीमध्ये बैंक ट्रान्सफर लयायतमा भने अंक पाइने छैन ।

अंक बटुल्न ग्राहकले उपभोग्य वस्तु तथा सेवा खरीद गर्नुपर्ने छ । जस्तै, पसल तथ सुपरमार्केटमा सामान किन्दा, हवाइ टिकट किन्दा, फिल्म टिकट किन्दा, अस्पतालको बील तिर्दा वा यस्तै प्रकारका अन्य उपभोगमुखि गतिविधिको भुक्तानी डिजिटल माध्यमबाट गरेमा प्वाइन्ट्स प्राप्त हुने छ ।

बैंकले इन्टरनेटमा आधारित कारोबारमा मात्र नभइ कार्ड भुक्तानीमा पनि रिवार्ड दिने भनेको छ । यो नेपालमा अर्को अतिरिक्त सुविधा हो । अन्य सेवाप्रदायकले मोबाइल बैंकिङमा खर्च गर्न नमिल्ने खालको रिवार्ड प्वाइन्ट्स प्रदान गरिरहेको भए पनि कार्डबाट हुने भुक्तानीमा यस्तो सुविधा थिएन ।

यसरी कारोबार गर्दा प्राप्त गरेको रिवार्ड प्वाइन्ट्सलाई ग्राहकले भुक्तानीका निम्ति प्रयोग गर्न सक्नेछन् । यसरी आर्जन भएको पोइन्ट्सबाट हवाइ टिकट किन्न, होटलको बिल तिर्न, पसलहरूमा सपिङ गर्न, बीमा तथा इन्टरनेट बिल तिर्न, उपहार कार्ड आदिमा खर्च गर्न सकिने बैंकले जनाएको छ ।

यदी सिद्धार्थ बैंकको कुनै ग्राहकसँग आवस्यक रिवार्ड प्वाइन्ट जम्मा भइसकेको छ भने त्यसै अंकको भुक्तानी गरेर वस्तु तथा सेवा खरिद गर्न सक्ने छन् । यस निम्ति भुक्तानीका लागि नगद तिर्नु पर्दैन । यस्ता रिवार्ड प्वाइन्ट्सबाट मोबाइल टपअप, बिजुली, टिभी, बस टिकट र अन्य आवश्यक सेवाहरूको लागि सहजै भुक्तानी गर्न सकिन्छ ।

सिद्धार्थ रिवार्ड प्वाइन्टको म्याद दुई वर्ष हुनेछ । अर्थात् ग्राहकले प्राप्त गरेको रिवार्ड प्वाइन्ट्स २ वर्षसम्म चलाउन सक्नेछन् । ग्राहकले बैंकको वेबसाइटमा ‘सिद्धार्थ रिवार्ड प्वाइन्ट्स’मा गएर यसबारे थप जानकारी लिन सक्नेछन् ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आईतवार १२:५६