२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

कुल्फी बेचेर मनग्य कमाउँदै र्लाहीका मिथलेश, मासिक एक लाखसम्म आम्दानी

२३ साउन, सर्लाही । काम कहिले पनि सानो ठूलो हुँदैन । मेहनत गरे जुनसुकै कामबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ सर्लाहीको लालबन्दी नगरपालिका–२, निवासी ४६ वर्षीय मिथलेश सहनी । सहनीले कुल्फी बेचेर मनग्य आम्दानी गरिरहनुभएका सहनीले पाँचजनाको परिवारको आनन्दसँग पालनपोषण गरिरहनुभएको छ । उहाँका एक छोरा केही समयदेखि वैदेशिक रोजगारीमा मलेसिया पुगेका छन् ।

उहाँले दुई छोरा घर नजिकैको विद्यालयमा पढाउनुभएको छ । सहनी आफू भने दैनिक ६० किलोमिटरसम्म साइकलमा डुलेर कुल्फी बेच्नुहुन्छ । फागुन महिनाको पहिलो हप्तादेखि सुरु हुने उहाँको कुल्फीको व्यापार मङ्सिर महिनासम्म चल्छ । चर्को घाम, पुरानो साइकल केरियरमा बाँधेको कुल्फीको ड्रम गाउँ गाउँसम्म पुग्ने निरन्तरको यात्रा उहाँको दैनिकी हो ।

“अत्यधिक गर्मी वा बर्सातको समयमा कुल्फी उत्तिसारो बिक्दैन्”, उहाँले भन्नुभयो, “मानिसहरु घरबाट बाहिर निस्किदैनन्, मौसम ठिक्क भएमात्र व्यापार राम्रो हुन्छ ।” सम्पत्तिको नाममा तीन धुर घडेरीमा बनेको काठको भुइँतले घरबाहेक उहाँसँग अरु केही छैन । सहनीले दैनिक ज्याला मजदुरी, कहिले खोलामा बालुवा चाल्ने त कहिले गिट्टी कुट्ने गरेर परिवारको लालनपालन गर्दै आउनुभएको थियो । समयमा धान काट्न उहाँ भारतको पञ्जाबसम्म पुग्नुभएको छ । “कमाई राम्रो कहिले भएन”, उहाँ भन्नुहुन्छ ।

झन्डै १५ वर्ष पहिला उहाँले यसैगरी अन्न (मकै) सँग बरफ साट्ने काम गर्नुभएको थियो । आम्दानी राम्रो नभएपछि लगभग तीन वर्ष काम गरेर छाड्नुभयो । विगत तीन वर्षबाट फेरि उहाँले कुल्फी बेच्न सुरु गर्नुभएको हो । उहाँ हरेक दिन बिहान नजिकैको उद्योगबाट बरफको डल्ला किनेर ल्याउनुहुन्छ । त्यसपछि उहाँ कुल्फी बट्टाबट्टामा राखेर नुहाइधुवाइ गर्नुहुन्छ ।

त्यसबेलासम्ममा कुल्फी जमेर तयार भइसक्छ । खाना खाइसकेपछि बिहान १० बजेदेखि उहाँको व्यापार सुरु हुन्छ । सहनी घरबाट विभिन्न गाउँ हुँदै सर्लाही र रौतहटको सीमाक्षेत्र नुनथर, बागमती नगरपालिकास्थित भरत तालसम्म पुग्नुहुन्छ । साँझ घाम डुबेपछि भने उहाँ सिधैँ घर हानिनुहुन्छ । “घाम डुबेपछि गाउँ पस्दिन”, उहाँले भन्नुभयो, “जति व्यापार भए पनि सिधैँ घर पुग्छु ।”

दिनको कम्तीमा रु पाँच हजारको सामान ड्रममा राखेर व्यापारका लागि निस्कने गरेको उहाँको भनाइ छ । “कुनै दिन अपराह्न २ बजे नै सबै बेचेर भ्याउछु”, उहाँले भन्नुभयो, “कहिले फिर्ता पनि लानुपर्छ, ३६ घण्टासम्म बिग्रिँदैन् ।” पूरै बिक्री गर्दा रु दुई हजार पाँच सय फाइदा हुने उहाँको भनाइ छ । कुल्फी रु १० देखि ५० सम्ममा बिक्री गर्ने गरेको उहाँको भनाइ छ ।

कुल्फी बेचेर महिनाको रु एक लाखसम्म कमाइ हुने गरेको उहाँले बताउनुभयो । केही भएन भने पनि मेहनत गर्न सक्दा उहाँका अनुसार कडा मेहनत पर्ने भएकाले यो पेसा सबैले मन पराउँदैनन् । “मेहनत कडा छ”, उहाँले भन्नुभयो, “दैनिक हिँड्न सक्नुपर्यो, भारीसहितको साइकल ५०÷६० किलोमिटर ठेल्नुपर्छ ।”

कुल्फीका लागि आवश्यक सामग्री ल्याएर आफैले घरमै कुल्फी बनाउँदा फाइदा धेरै हुने गरेको उहाँको अनुभव छ । बरफबाहेक सबै कुरा आफैँ बनाउने उहाँले सुनाउनुभयो । आर्थिक उपार्जनको दिगो व्यवस्था नहुँदा विगतमा निकै हण्डर खाएको सम्झदै सहनीले कुल्फीको व्यापारपछि पछाडि फर्किएर हेर्नुनपरेको सुनाउनुभयो ।

कुल्फी व्यापारपछि सहनीले पाँच कट्ठा धान फल्ने खेतसमेत किनेको बताउनुभयो । वर्षदिन पुग्न धान आफ्नै खेतमा फल्ने गरेको उहाँको भनाइ छ । धेरैजसो गर्मीको मौसम रहने तराईको ठाउँमा बरफ, कुल्फी लगायतको बिक्री निकै राम्रो हुने गरेको छ । यसको व्यापारबाट धेरै स्थानीय स्वरोजगार समेत बनेर मनग्य आम्दानी समेत गरिरहेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार १६:४७