प्रधानमन्त्री ओलीले गरे त्रिविविको नीति तथा कार्यक्रममा हस्ताक्षर
२३ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति ओलीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा हस्ताक्षर गर्नुभएको हो ।
मङ्गलवार उपकुलपति प्राडा केशरजंग बराल लगायतका त्रिविका पदाधिकारीहरूले प्रधानमन्त्री निवास बालुवाटार पुगी ओलीको हस्ताक्षर गराउनुभएको हो । मङ्गलवार प्रधानमन्त्रीले बजेटसँगै नीति तथा कार्यक्रममा हस्ताक्षर गर्नुभएको त्रिविका रजिष्ट्रार प्राडा केदार रिजालले बताउनुभयो । साउन १५ गते त्रिविको सिनेट बसेको र उक्त सिनेटमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएको थियो । तर, कार्यव्यस्तता देखाउँदै प्रधानमन्त्री ओली नीति तथा कार्यक्रममा छलफल नै नगरी निस्किनुभएको थियो ।
सिनेट बैठकबारे गलत हल्ला फैलाइएको वाहाँको भनाइ छ । ‘सिनेटमा हाम्रो दुईवटा मात्रै एजेण्डा थिए । एउटा त्रिविको ६२ औँ ग्रेस लिष्ट पारित गर्ने र अर्को नीति तथा कार्यक्रम बजेट पारित गर्ने । तर, गलत बुझाइका कारण गलत सन्देश गयो । बजेट र नीति तथा कार्यक्रम उस्तै हो । त्यो पास नहुने कुरै भएन,’ रजिष्ट्रार रिजालले भन्नुभयो ।
प्रकाशित मिति : August 7, 2024 at 12:13 pm









