१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

खुकुरी प्रहार गरेको अभियोगमा तीनजना पक्राउ

२१ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित सौराहा होटल नजिक सडकमा कैलाली धनगढी उपमहानगरपालिका–२ घर भई हाल काठमाडौँ आलोकनगर बस्ने २२ वर्षीय मनत केसीलाई खुकुरी प्रहर गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली फिकल गाउँपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–३१ आलोकनगर बस्ने १८ वर्षीय अनिष मगर, दैलेख महावु गाउँपालिका–४ घर भई हाल आलोकनगर बस्ने २६ वर्षी कुमार पण्डित तथा दार्चुला बाँज घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार हात्ती डाँडा बस्ने १९ वर्षीय प्रेमसिंह महरा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

खुकुरी प्रहारबाट घाइते भएका केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट प्रहरीले एक थान खुकुरी बरामद गरेको छ । उनीहरुमाथि प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : 15:37