११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

जिल्ला अध्यक्षहरुको भेला गर्दै राप्रपा

१६ साउन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरुको भेला यही साउन १७ र १८ गते काठमाडौँमा हुने भएको छ ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले यही साउन १७ गते धुम्बाराही स्थित एसआर बैंक्वेटमा भेलाको उदघाटन गर्नुहुने कार्यक्रम तय भएको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको गम्भीर समिक्षा गरिने, विगतका निर्वाचनका कमी कमजोरीको समिक्षा गर्दै आगामी रणनीति तय गरिने, पार्टीले लिएका नीति र यसले पार्टी पंक्ति तथा जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने, पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएको अवस्थामा सबै तहको अधिवेशन सम्पन्न गर्ने साथै २०८४ मा हुने तीन तहकै निर्वाचनको तयारीमा अहिलेदेखि कस्तो रणनीति तय हुने भन्ने विषयमा पनि छलफल हुने सचिवालय प्रमुख महामन्त्री राजेन्द्र गुरुङ्ले जानकारी दिनुभयो ।

उक्त भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरुलाई निर्देशन गर्नुहुनेछ भने पार्टीका पूर्व अध्यक्ष पशुपति शमसेर जबरा, निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र नेताहरुले पार्टी सङ्गठनका विविध पक्षमा जिल्ला अध्यक्षसँग सामूहिक छलफल गर्ने कार्यक्रमसमेत रहेको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : July 31, 2024 at 3:05 pm