बाढीले बगाएका एक मजदुरको शव भेटियो, एकको खोजी कार्य जारी
१६ साउन, भोजपुर । बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ ।
भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिनुभयो ।
इखुवा खोलाको बाढीले मङ्गलबार इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो । थारुसँगै बगेका २६ वर्षीय श्यामकुमार थारु हालसम्म बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक तिम्सिनाले बताउनुभयो । यस्तै बाढीमा परेका २६ वर्षीय रामकिसन थारुको भने स्थानीयले उद्धार गरेका थिए । बेपत्ताको खोजी गर्न प्रहरी चौकी चौकीडाँडा, इलाका प्रहरी कार्यालय दिङ्ला तथा सशस्त्र प्रहरी बलको अस्थाइ बेश क्याम्प चौकीडाँडाको टोली खटिएको छ ।
यसैबीच मङ्गलवार राति आएको बाढीले षडानन्द नगरपालिका–२ मा दुई घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक श्रेष्ठका अनुसार स्थानीय चित्रबहादुर दर्जी र निर्मला राईको घर बाढीले बगाएको हो ।
बाढीले बगाएका चित्रकी श्रीमती ६५ वर्षीया चन्दकुमारी दर्जीलाई स्थानीयवासीले उद्धार गरेका थिए । बाढीले एक तले घर र गोठ बगाउँदा रु ६ लाख बरावरको क्षति भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । बाढीले गोरु, बाख्रा र कुखुरा पनि बगाएको छ । घर बगाएपछि ६ जनाको परिवार बिचल्लीमा परेको छ । उनीहरुलाई स्थानीय महेन्द्र राईको घरमा बस्दैआएका छन् ।
बाढीले निर्मलाको घर, रु ५० हजार, चार तोला सुन, ६ तोला चाँदी र घर भित्र रहेको सम्पुर्ण सामान बगाएको प्रहरीले जनाएको छ । उनको करिब रु १० लाख बरावरको क्षति भएको छ । निर्मलाको परिवार स्थानीय राम राईको घरमा बस्दैआएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : July 31, 2024 at 12:27 pm









