प्रधानमन्त्रीले निजी तथा स्वकीय सचिवालय गठन गरिसक्नु भएको छैनः उपमहासचिव रिमाल
२ साउन, काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री केपी शर्मा ओलीले निजी तथा स्वकीय सचिवालय गठन गर्न बाँकी नै रहेको बताएका छन । सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै उपमहासचिव रिमालले प्रधानमन्त्रीले अहिलेसम्म सचिवालय गठन नगरिसकेको र विज्ञ तथा सल्लाहकारको नियुक्तीको प्रकृया बाँकी नै रहेको बताएका छन ।
नेकपा एमालेकै कतिपय जिम्मेवार नेताहरूले समेत उपमहासचिव रिमाल प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्ति भएको भन्दै तस्बिरसहित बधाई दिन थालेपछि उपमहासचिव रिमालले समाजिक सञ्जाल मार्फत नै बधाईका नाममा हतार नगर्न संकेत गरेका हुन ।
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार र सल्लाहकारहरू मन्त्रिपरिषद् बैठकले निर्णय गरेर नियुक्त गर्ने प्रचलन रहेको छ । त्यस्तो बिधि बुझेका कतिपय एमालेकै नेताहरूले समेत सामाजिक सञ्जालमा बधाई दिन थालेपछि रिमालले फेसबुकमा लेखेका छन, ‘कृपया जानकारीको लागि ।।। हाम्रा पार्टीका आदरणीय अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नु भएको आज दोस्रो दिन हो । प्रधानमन्त्रीज्यूको निजी तथा स्वकीय सचिवालय गठन र विज्ञ तथा सल्लाहकारको नियुक्तीको प्रकृया बाँकी नै छ ।’

प्रकाशित मिति : July 17, 2024 at 10:05 am









