८ असार २०८३, सोमबार | Mon Jun 22 2026

झापामा अनुचित लेनदेनका ८३ उजुरी दर्ता

२७ असार, काठमाडौँ । जिल्लामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ८३ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा उक्त उजुरी दर्ता भएका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाइँका अनुसार आयोगले पहिलो पटक सूचना सार्वजनिक गरेको मिति गत जेठ ११ गतेदेखि हालसम्म उक्त उजुरी परेका हुन् । उहाँले मिति आगामी साउन ४ गतेसम्मका लागि म्याद थप भएकाले उजुरी गर्नेको सङ्ख्या बढन्सक्ने बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी चापागाइँले भन्नुभयो, “मेरो नेतृत्वमा जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकील कार्यालयको प्रतिनिधि रहेको संयन्त्र गठन भएको छ, जसले आयोगले सूचना आह्वान गरेपछि परेका उजुरी उपर आवश्यक छलफल तथा फछ्र्यौट गर्नेछ ।” उजुरी गर्ने म्याद अझै बाँकी नै रहेकाले अन्तिम म्याद सकिएपछि आयोगको निर्देशन बमोजिम संयन्त्रले काम गर्ने उहाँको भनाइ थियो ।

अन्य समयको उजुरीको अवस्था

अनुचित लेनदेनसम्बन्धी अन्य समय (२०८१ जेठ अगाडि)मा परेका ७७ उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयबाट आएका ७७ र प्रहरी कार्यालयमा दर्ता भएका १६ गरी ९३ उजुरीमध्ये २९ मा सहमति भएको प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

यसैगरी १५ मुद्दा दर्ता भएको, १९ वटामा सहमति भई फछ््र्यौट भएको, छ उजुरीका सम्बन्धमा विपक्षी छलफलमा उपस्थित नभएको, दुई उजुरीमा विपक्षीको एकीन ठेगाना नखुलेको, १३ उजुरी निवेदन प्राप्त हुनु अगावै अदालती प्रक्रियामा गएका र नौ उजुरी छलफल प्रक्रियामा नै रहेको प्रहरी निरीक्षक पराजुलीले बताउनुभयो ।

हालसम्ममा अनुचित लेनदेनमा रु दुई करोड ५७ लाख एक हजार नगद र एक बिघा १४ कठ्ठा पाँच धुर जमिन फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : July 11, 2024 at 5:35 pm