८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

आँधीखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्याउँदा ४० हजार उपभोक्ता मारमा

२३ असार, स्याङ्जा । शनिबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा बुटवल पावर कम्पनीका ४० हजार सेवाग्राही मर्कामा परेका छन् । शुक्रबारदेखिको अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएको छ । स्याङ्जाको गल्याङस्थित बुटवल पावर कम्पनी (बिपिसी)को आँधीखोला जलविद्युत् आयोजनाको बाँधस्थलमा क्षति पुर्याएपछि शनिबार बिहान ८ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।

आँधीखोलाको माथिल्लो भेगमा भारी वर्षा भएसँगै आँधीखोलामा पानीको सतह बढ्न गई पानी सङ्कलन पोखरीमा ढुङ्गा, गिट्टी, बालुवा भरिएको बुटवल पावर कम्पनी आँधीखोला जलविद्युत् केन्द्र गल्याङका प्रमुख डोल खरेलले बताउनुभयो । “खोलामा पानीको सतह बढिरहेकाले अहिले पानी सङ्कलन गरिएको पोखरी सफा गर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “खोलामा पानीको सतह घटेपछि पोखरी सफा गरेर मात्र टनेलमा पानी पठाउँछौँ ।”

गल्याङस्थित आँधीखोलाबाट उत्पादन भएको नौ दशमलव चार मेगावाट विद्युत् स्याङ्जाको दक्षिणी भेग, पाल्पाको पूर्वी भेगका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, गुल्मी जिल्लाका केही भेग र पर्वतको केही भेगमा विद्युत् अवरुद्ध छ । स्याङ्जाको वालिङ–६ मिर्दी बजार नजिकै वितरण लाइनको पोल बाढीले ढलाएको छ । मर्मत गर्न प्राविधिक र उपकरण तयारी अवस्थामा राखिए पनि सडक अवरुद्धका कारण सम्भव नभएको उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति : July 7, 2024 at 10:45 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/