धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द
१४ असार, काठमाडाैँ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । अर्थ मन्त्रालयले बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो । अर्थमन्त्रलयले शुक्रबार दिउँसो सूचना सार्वजनिक गरी नियुक्ति प्रक्रिया रद्द भएको जानकारी दिएको हो ।
विवादित विचाैलिया दीपक भट्टले छानेको पत्र बोर्डको अध्यक्ष बनाउने विषयमा प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीको बीचमा करिब सहमति बनेको सूचना सार्वजनिक भएपछि प्रतिस्पर्धामा रहेकाहरूले दुइ पटकसम्म अन्तरवार्ताको कार्यक्रमनै बहिष्कार गरेका थिए ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रियाअन्तरगत दोस्रो चरणमा अन्तरवार्ताको लागि बोलाइएको पाँच जनामध्ये दुई जना मात्र उपस्थित भएपछि प्रक्रिया अगाडि बढाउने/नबढाउने अन्योल देखिएपछि बोर्डको अध्यक्ष छनोट समितिले महान्यायाधिवक्ताको कार्यालयसँग कानुनी अड्चनको विषयमा राय मागेको थियो। महान्यायाधिवक्ताको कार्यालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा अन्तर्वार्तामा सहभागी भएका दुई जनालाई मात्रै सिफारिस गर्न नमिल्ने व्याख्या गरेपछि शुक्रबार छनाैट पक्रिया नै रद्द गरिएको हो ।
बोर्डको अध्यक्षका लागि सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी, कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईं प्रतिस्पर्धामा रहेका थिए । पहिलो र दोस्रो पटक बोलाएको अन्तर्वार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै उपस्थित भएका थिए। राष्ट्रिय योजना आयोगको उपाध्यक्ष मीनबहादुर श्रेष्ठको नेतृत्वमा बनेको छनोट समितिले १९ जना मध्येबाट पहिलो चरणमा पाँच जनाको नाम सिफारिस गरेको थियो ।
प्रकाशित मिति : 18:33









