१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रियसभाबाट सुरक्षित कारोबार विधेयक पारित


२९ जेठ, काठमाडौँ । राष्ट्रियसभाबाट ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सर्वसम्मतले पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विधेयक प्रस्तुत गरेका थिए । त्यसअघि प्रस्तुत विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले यस विषयमा समितिमा पर्याप्त छलफल भएको बताए । उनले भने,“यो विधेयकमा जनताको दैनिक काराबोर खासगरी धितोसम्बन्धी व्यवस्था छ । उत्पादनमूलक व्यवसाय माछापोखरी, फलफूल बगान, पशु फार्म आदिमा धितोको व्यवस्था हुनेछ । यो संशोधनपछि थप व्यावहारिक र समयसापेक्ष हुन्छ ।”

विधेयकमाथिको छलफलमा सांसदद्वय देवेन्द्र दाहाल र कमला पन्तले भाग लिइ आफ्ना धारणा व्यक्त गरेका थिए । यसैगरी बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचाैँ वार्षिक प्रतिवेदन पेस गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक आगामी असार ४ मङ्गलबार १ः१५ बजे बस्ने छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलवार १६:४७