२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

तराईमा अत्यधिक गर्मीका कारण सतर्कता अपनाउन अनुरोध

२९ जेठ, काठमाडौँ । मध्य तथा पश्चिमी तराईका भू-भागमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नु तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाएको छ ।

महाशाखाले आज तातो दिन र तातो लहरसम्बन्धी विशेष बुलेटिन प्रकाशित गरी ती भू-भागमा यही जेठ २९ गतेदेखि ३१ गतेसम्म तीन दिन तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको हो ।

तातो हावा तथा तातो लहरका कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसीहरू दुख्ने, बान्ताआदि हुनसक्ने सम्भावित असरहरू देखिन्छ । यसबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वतआदि) प्रशस्त मात्रामा पिउन महाशाखाले सुझाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलवार १४:१६