१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जुम्लामा अज्ञात रोगका कारण २३ भेडा मरे


२७ जेठ, काठमाडाैँ । जुम्लाको हिमा गाउँपालिकामा अज्ञात रोगले २३ भेडा मरेका छन् । सो पालिकामा पर्ने नदै पाटन र ठाकुरपानीमा भेडा मरेको स्थानीय वीरबहादुर शाहीले जानकारी दिए । उनले आफ्ना १०, कर्णबहादुर शाहीका छ, अकलबहादुर शाहीका चार र जिरबहादुर शाहीका तीन वटा भेडा मरेको बताए ।

“भेडामा पातलो दिसा हुने, ज्वरो आउने, काप्ने, रिङ्गटा लाग्ने, झोक्राउने समस्यापछि मृत्यु हुने गरेको छ,” उनले भने, “यो तीन दिनमा १० र एक महिनामा २३ भेडा मरिसकेका छन ।” यसरी भेडा मर्न थालेपछि उपचारका लागि पशु प्राविधिकलाई खबर गरिएको उनको भनाइ छ ।

हिमा गाउँपालिकाका पशुशाखा प्रमुख नरसिङ थापाले त्यस क्षेत्रमा पशु प्राविधिक पठाउने तयारी भइरहेको बताए । उनका अनुसार औषधि सकिएकाले स्थानीय तहमा खरिद गर्ने तयारी भइरहेको छ । औषधि अभावले हिमामा समस्या भइरहेको किसानको गुनासो बढरिहेको छ ।  उनले उपचार तथा रोकथामका लागि पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लामा औषधिको माग गरिएको बताए ।

पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका कार्यालय प्रमुख ज्ञानेन्द्र बुढ्थापाले स्थानीय तहमा रहेको पशु शाखाले पहिचान गरेको रोगका आधारमा औषधि पठाउने जानकारी दिए । भेडा मर्न थालेपछि भेडीगोठ नदै पाटनबाट कालाकाटियातिर सारिएको स्थानीय किसानले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आईतवार १५:०१