१० असार २०८१, सोमबार | Mon Jun 24 2024

सिलौटोको व्यापारबाट जीविकोपार्जन गर्दै, मासिक रु ३५ देखि रु ४० हजारसम्म आम्दानी


२१ जेठ, काठमाडाैँ । धरान उपमहानगरपालिका–८ बरगाछीमा सिलौटा बनाउँदै गर्दा भेटिएका खनार सुनसरीका विशाल शर्मा मसला पिस्ने लोहोरो, जाँतो र सिलौटोको व्यापारबाट जीविकोपार्जन गरिरहेको छ । उनले सिलौटा बनाउने पुर्खौली पेसा भएकाले यसलाई निरन्तरता दिएको बताए ।

ढुङ्गाबाट बनेका सामग्री विभिन्न आकार र बुट्टाले भरिएका छन् । शर्माले ती सामग्री बिक्रीका लागि लहरै राखेको छ । उनले भने, “विदेशमा गएर दुःख गर्नुभन्दा यही सिलौटो व्यापार गरेर जीविकोपार्जन भइरहेको छ ।” स्वदेशमा केही गर्दा आन्दानीसँगै आत्मसन्तुष्टि प्राप्त हुने उनको बुझाइ छ ।

सिलौटो बनाउने ढुङ्गा मोरङको केराबारी, जाँते लेटाङलगायत स्थानबाट खरिद गरी ल्याउने गरेको शर्माले बताए । उक्त व्यापारबाट मासिक रु ३५ देखि रु ४० हजारसम्म आम्दानी हुँदै आएको उनले जानकारी दिए ।

“व्यापार गर्न एउटै स्थान बनाएको छैन । एक ठाउँमा तीन÷चारदिन व्यापार गर्छु । तीन÷चारदिनपछि ठाउँ परिवर्तन गर्छु”, शर्माले भने, “पूर्खाले गर्दै आएको पेसा भएकाले पेसाको संरक्षण र आम्दानी हुने भएकाले निरन्तरता दिएको छु ।”

निर्माण गरिएका सामान धरानका साथै पाहाडी भेग, भेडेटार, धनकुटा, इटहरी, बेलबारी, मोरङ, झापालगायत स्थानमा बिक्री हुँदै आएको शर्माले बताए । माग अनुसार कतिपय सामान बनाउने गरेको उनको भनाइ छ । “एउटा सिलौटो बनाउन ३० देखि ४० मिनेट लाग्छ । एउटा रु चार सयदेखि आठ सयमा दैनिक १० वटासम्म बिक्री भइरहेको छ”, उनले भने ।

पछिल्लो समय महँगी र आधुनिकताका कारण व्यवसाय सङ्कटमा पर्दै गएको शर्माको भनाइ छ । “अहिले सिलौटोमा मसला पिस्ने चलन हराउँदै जान थाल्यो, व्यवसाय सङ्कटमा पर्छकी भन्ने डर छ”, उनले भने, “पुर्खौली पेसा भएकाले संरक्षणका लागि पनि निरन्तरता दिँदै आएको छु ।”

ढुङ्गाको सिलौटो बनाउने पेसालाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने कोशी प्रदेशका सांसद रमेश बस्नेतले बताए । “परम्परागत रुपमा प्रयोग गर्दै आइएको ढुङ्गाको सिलौटोलाई संरक्षण र प्रवर्द्धन गर्दै लैजानुपर्छ”, उनले भने, “स्थानीय सरकारले यस्तो पेसा गर्नेलाई सहयोग गर्नुपर्छ । प्रत्येक घरमा ढुङ्गाको सिलौटो छन् । आधुनिकताले गर्दा प्रयोगमा कम आउन थालेको मात्रै हो ।”

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार १७:१५