३ असार २०८१, सोमबार | Mon Jun 17 2024

कैलाश सिरोहियाको बचाउमा बोलेकोमा पश्चाताप गर्दै मह जोडीले मागे माफी (भिडियो)


१४ जेठ, अष्ट्रेलिया । कैलाश सिरोहियाको बचाउमा बोलेकोमा वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पश्चाताप गरेका छन । उनीहरूले अष्ट्रेलियाबाट भिडियो सन्देश जारी गर्दै कैलाशको बचाउमा बोलेको कुरा त्रुटी भएकाले माफी दिन अनुरोध गरेका छन । अष्ट्रेलियामा उनीहरू सहभागी हुने कार्यक्रम नै रद्द हुने परिस्थिति सिर्जना भएपछि कैलाश सिरोहियाको वचाउमा बोलेको अभिव्यक्ति फिर्ता लिएका हुन ।

उनीहरूले भिडियो सन्देश जारी गर्दै अदालतमा विचाराधिन विषयमा बोलेर गल्ती गरेको बताएका छन । भिडियो सन्देशमा मदनकृष्णले भनेका छन, ‘अस्तिनै हामी एउटा एफएममा बसेर अष्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौं । त्यही बेला त्योभन्दा गम्भीररूपमा अर्को अदालतमा विचाराधी विषयमा पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनु भएको रहेछ । एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो । हामी अक्मकियौं के बोल्ने कसो बोल्ने भनेर । अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस भएको छ ।’

त्यस्तै भिडियोमा माफी माग्दै हरिवंशले भनेका छन, ‘अदालतमा विचाराधीन मुद्दाको विषयमा नबोलेको भए हुन्थ्यो । हामीबाट त्रुटि भयो । आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ । सबै कुरा बिर्सिएर माफी दिन अनुरोध गर्छौं ।’ सिरोहिया पक्राउ परेपछि कान्तिपुर टीभीले महजोडीसँग प्रतिक्रिया लिएर कैलाश निर्दोष रहेको सन्देश प्रवाह गराएको थियो । सिरोहिया कीर्ते नागरिकताको मुद्दामा अहिले जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी हिरासतमा रहेका छन ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार ११:३३