१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

एक महिलालाइ प्रलाेभनमा पारी चिनियासँग नक्कली विवाह गराई वेश्यावृत्तिमा बिक्री

८ जेठ, काठमाडौँ । एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु पाँच लाखमा बिक्री गरेको पाइएको छ ।

प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्ने ४३ वर्षकी मनमाया घलेले रु पाँच लाख लिएर चिनियाँ नागरिकसँग नक्कली बिहे गराई पीडित महिलालाई चीन पुर्याएर वेश्यावृत्तिमा लगाएको भेटिएको हो ।

पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा चिनियाँ नागरिकसँग बिहे गरेपछि ग्रीनकार्ड बनाउन मिल्छ, त्यसपछि नेपाल आउनजान पाइन्छ अनि भविष्य सुनौलो हुन्छ भन्ने प्रलोभनमा पारी चिनियाँ नागरिकसँग अदालतमा लगेर विवाह समेत गराएर बेचबिखन गरेको पाइएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

अनुसन्धानका क्रममा आरोपी घलेले आर्थिक अवस्था कमजोर भएकी महिलालाई यसरी बेचबिखन गर्ने गरेको पाइएको छ । आरोपी घले २०७९ चैत १३ गते अदालतमा चिनियाँ नागरिकसँग कोर्ट म्यारिज गराई पीडित महिलालाई २०८० वैशाख १ गते चीनमा पुर्याएर आफू नेपाल फर्किएकी थिइन् । त्यसपछि चिनियाँ नागरिकले जबर्जस्ती वेश्यावृत्तिमा लगाएको पीडितले बयान दिएकी ब्यूरोले जनाएको छ ।

जबर्जस्ती वेश्यावृत्तिमा लगाइराखेको अवस्थामा पीडित महिलाले आफन्तलाई जानकारी गराएपछि बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा २०८० असार १ गते उनको उद्धार गरिएको थियो । खोजतलासका क्रममा ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौँको ठमेलबाट घलेलाई पक्राउ गरी अहिले अनुसन्धान जारी राखिएको छ । उक्त घटनामा संलग्न चिनियाँ नागरिक र अन्य प्रतिवादीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : May 21, 2024 at 11:01 am