१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

त्रिवि सेवा आयोगको सदस्य प्रा डा अजय भट्टराईले बुझे नियुक्ति पत्र

२ जेठ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिवि सेवा आयोगको सदस्यमा नियुक्त भएका प्रा डा अजय भट्टराईलाई नियुक्त पत्र प्रदान गरेका छन ।  बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भट्टराईलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन ।

यसअघि मंगलबार छनौट समितले सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले गरेको सिफारिसका आधारमा प्रधानमन्त्री समेत रहेका कुलपति प्रचण्डले भट्टराईलाई सदस्य नियुक्त गरेका थिए। भट्टराईको नाम सिफारिस समिति एक नम्बरमा राखेर कुलपतिकोमा सिफारिस गरेको थियो ।

महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पसको केमेस्ट्री डिपार्टमेन्टको प्रमुख रहेका भट्टराई त्रिभुवन विश्वविद्यालय उत्कृष्ट अनुसन्धान पुरस्कार २०८० बाट पुरस्कृत व्यक्ति समेत हुन । उनका सय भन्दा बढी अनुसन्धानमुलक लेखहरू प्रकाशित रहेका छन ।

सिफारिस समितिले वैशाखको ७ र ८ गते आवेदकहरूलाई प्रस्तुतीकरण सहितको अन्तर्वार्ता गरेको थियो । जसमा प्रा डा भट्टराईसहित प्रा। डा। खगेन्द्रप्रसाद लुईंटेल, प्रा। डा। राजनारायण यादव, प्रा। डा। मुकुन्दप्रसाद क्षेत्री, प्रा। डा। लालप्रसाद अम्गाईं, प्रा। डा। सञ्जय आचार्य, प्रा। डा। ज्ञानबहादुर थापा र प्रा। डा। नवराज कट्टेलले प्रस्तुतीकरण सहितको अन्तर्वार्ता दिएका थिए ।

उनीहरूको प्रस्तुतीकरणपछि सिफारिस समितिले केही दिनअघि कुलपति समक्ष सिफारिस गरेको थियो । रिक्त सदस्य पदका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८० चैत्र १८ गते आवेदन माग गरेको थियो । यसअघि सिफारिस गरेर अनुकुलका प्राध्यापकलाई नियुक्त गर्ने प्रचलन रहेकोमा यस पटक भने खुला प्रतिस्पर्धाबाट सदस्य नियुक्त गरिएको हो ।

प्रकाशित मिति : May 15, 2024 at 5:18 pm