हजुरबुबा र बुबा दुबैबाट बलात्कृत काभ्रेकी एक बालिकालार्इ अामाले पनि छाडिन
१० मंसिर, काठमाडाैँ । काभ्रेमा हजुरबुबा र बुबा दुबैबाट बलात्कारको शिकार भएकी एक बालिकालार्इ अामाले समेत छाडेकी छिन । छोरीको अनन्यायकाविरूद्ध लड्नुको साटो अामाले नै पीडित छोरीलार्इ एक्लो पारेकी लक्ष्मी बस्नेतले खोजपत्रकारिता केन्द्रका लागि तयार गरेको समचार अाजको नयाँपत्रिकाले प्रकाशन गरेको छ ।
०७१ साउन सकिन लाग्दा काभ्रे पनौतीकी एक किशोरीको ‘सुसाइड नोट’ भेटियो । जसमा लेखिएको थियो– ‘हजुरबुबा र बुबाको श्रीमती बनेर बाँच्नुभन्दा मर्नु ठीक लाग्यो ।’ मृत्यु रोज्ने उनको दर्दनाक कथा–व्यथा १० वर्षको उमेरमा आफ्नै ६५ वर्षीय हजुरबाले बलात्कार गरेपछि सुरु भएको थियो । त्यो सिलसिला करिब ६ महिना चल्यो । विदेशमा रहेका बाबु फर्केपछि उनले बाबुलाई त्यो कुरा सुनाइन् । बाबुले ‘त्यति बुढो मान्छेले पनि त्यस्तो गर्छ र ’ भने ।
उनका बाबुका चार श्रीमती थिए । उनी माइलीपट्टिकी जेठी छोरी थिइन् । १३ वर्षकी हुँदा बाबुले नै उनलाई बलात्कार गरे । उनले आमालाई भनिन्, तर आमाले खासै वास्ता गरिनन् । मामा प्रहरीमा इन्स्पेक्टर थिए । भान्जीको कुरा सुनेपछि उनले पनि ‘यस्तो कुरा गर्दा बेइज्जत हुन्छ, बरु हामी सम्झाइदिउँला’ भनेर कुरा टुंग्याए । तर, बलात्कारको क्रम भने रोकिएन । बाबुले उनलाई गर्भनिरोधक औषधिसमेत खुवाएर बलात्कार गर्ने गरेका थिए ।

आफ्नो कुरा कसैले पनि नसुनेपछि उनले विष खाएर आत्महत्याको प्रयास गरिन् । तर, उनी मरिनन् । अस्पतालको उपचारबाट अलि ठीक भएपछि असोजमा उनी बाबु र हजुरबुबाविरुद्ध उजुरी गर्न जिल्ला प्रहरी कार्यालय काभ्रे पुगिन् । घटना बाहिर आएलगत्तै हजुरबुबाले आत्महत्या गरे । छोरीलाई न्याय दिलाउन उभिनुको साटो आमाले भनिन्, ‘मैले अरू छोराछोरीलाई पनि हेर्नुपर्छ !’
जिल्ला अदालत काभ्रेले उनका बुबालाई १८ वर्ष कैदको फैसला सुनायो । पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म पुगेको यो मुद्दामा सर्वोच्चले पनि जिल्लाकै फैसला सदर गर्यो। बाबु जेल गए, तर आमा पराइ भइन् । राजधानीको एउटा गैरसरकारी संस्थाको संरक्षणमा रहेकी यी बालिका भन्छिन्, ‘आफ्नो भन्ने कोही छैन, जाने ठाउँ कहीँ छैन ।’
प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार ०८:४३












