एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो ग्राहकलाई कर्जामा प्रदान गरिने छुट
२५ चैत, काठमाडौँ । एनआईसी एशिया बैंकले ऋणीका लागि ब्याज छुटको योजना सार्वजनिक गरेको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उदेश्यले बैंकले २०८० पौष मसान्तमा प्रचलित नियमनकारी व्यवस्थाअनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा ब्याज छुटको योजना ल्याएको हो ।
सम्वन्धित ऋणीले २०८० चैत्र मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै २०८० चैत्र मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा २०८० चैत्र मसान्तसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र ब्याज रकममा समेत संलग्न तालिकामा उल्लेख भएको योजनाबमोजिम छुट प्रदान गर्ने योजना ल्याएको बैंकले जनाएको छ ।
मासिक तथा त्रय मासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ऋणीले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ ।
यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्त रहितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको जनएको छ । बैंकले ल्याएको यस छुटयोजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकमहानुभावहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ।
एन आईसी एशिया बैंकले मुलुकभर ३६०शाखा कार्यालयहरू, ६७० एटिएम, ११७वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।
प्रकाशित मिति : २५ चैत्र २०८०, आईतवार ११:०३